दाङ । लुम्बिनी प्रदेशकै पहिलो जिपलाइन दाङको छिल्लीकोटमा निर्माण भइरहेको अवस्थामा छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित छिल्लीकोटको मालिका र कालीका मन्दिरको बीचमा विगत एक वर्षदेखि जिपलाइन निर्माणको कार्य हाल अन्तिम चरणमा पुगेको सञ्चालक श्रीधर न्यौपानेले बताए।
बढीमा अबको एक महिनाभित्र जिपलाइनको डेमो प्रदर्शन गर्ने तयारी गरिएको उनले बताए । उनले जिपलाइन निर्माणको काम ९० प्रतिशत बढी सकिएको र अब टिकट काउन्टर लगायतका संरचना निर्माण गर्न बाँकी रहेको जानकारी दिए।न्यौपानेका अनुसार टेक अफ टावर र ल्याण्डिङ टावरका बीचको उचाइ एक सय ३२ मिटर रहेको छ भने जिपलाइन ११०० मिटर लम्बाइको छ।