काठमाडौं । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले नुवाकोटको बेलकोटगढीमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।
अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त शिविर सञ्चालन गरेको जनाएको छ । शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो । ॐ हस्पिटल, गरिमा विकास बैंक र यशोदादेवी भगवान् सिंह के.सी. मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा बेलकोट फाँटीपौवास्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सञ्चालित शिविरमा बेलकोटगढी नगरपालिकाले समेत सहकार्य गरेको थियो । शिविरको प्रतिनिधिसभा सदस्य अर्जुननर्सिङ केसीले उद्घाटन गरेका थिए ।
शिविरमा अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, छाती तथा श्वासप्रश्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, स्त्री क्यान्सर परीक्षण तथा फार्मेसी सेवालगायतका विषयहरूमा २५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट सेवा दिएको थियो । अस्पतालका अध्यक्षसमेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिस्ट डा आनन्दप्रसाद श्रेष्ठले शिविरमा वरिष्ठ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परीक्षण र परामर्श गर्न सकिने व्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौंस्थित ॐ हस्पिटलमा विशेष छुटसमेत प्रदान गरिने व्यवस्था गरिएको छ ।
एकदिवशीय शिविरमा चर्म तथा यौन रोग, हाडजोर्नीमा, दन्त चिकित्सा सेवा, सामान्य चिकित्सा, छाती तथा फोक्सो, मुटुरोग, स्त्री तथा प्रसूति, महिलासम्बन्धी क्यान्सर परीक्षणलगायतका विधामा आठ सयभन्दा बढी बिरामीले विशेषज्ञसँग परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए ।