काठमाडौं । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो। त्यसकै जवाफमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए भने राज्यले छुट नदिने बताएका छन्।
सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने एमाले सांसद योगेश भट्टराईले चेतावनी दिएका थिए । वैधानिक तरिकाबाट कोशीको नाम फेरबदल गरिए एमालेलाई आपत्ति नहुने भट्टराईको भनाइ थियो।
आफूले कोशीमा भइरहेका घटनाबारे नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको गृहमन्त्रीको भनाइ छ। गृहमन्त्री श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमाले र सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण गराएपछि कोशीमा भइरहेका गतिविधिबारे आफूले सदनलाई जानकारी गराउनु उपयुक्त हुने बताए।
बिहीबार पहिचानवादीहरूले उदयपुरमा कोशीको उपसभामुखमाथि र इलाममा एमाले नेतामाथि आक्रमण प्रयास गरेको भन्दै एमालेले विरोध गरेको थियो।घटनाका दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको गृहमन्त्री श्रेष्ठले बताएका छन् । एमाले नेता र उपसभामुखलाई कार्यक्रममा जाँदा बिहीबार प्रहरीले स्कटिङ गर्दै सुरक्षासमेत दिएको मन्त्री श्रेष्ठले बताए ।