काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढ्दै गएपछि बाह्य क्षेत्रको दबाब हटेको राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख)मा विदेशी मुद्रा सञ्चिति दुई खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँले बढेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँबराबर रहेको विदेशी विनिमय सञ्चिति २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा २०८० वैशाखमा ११ अर्ब २१ करोड रहेको छ । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १७ दशमलव छ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको १० महिनाको अयातलाई आधार मान्दा सञ्चितिमा रहेको विदेशी मुद्राले ११ महिना छ दिनको वस्तु आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको सुरुमा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्दा सरकारले विभिन्न १० वस्तुको आयातमा रोक लगाएको थियो । गाडी, मोटरसाइकल, मोबाइल, मदिरा, सुर्तीजन्य पदार्थ, तास, खेलौना, कुरमुरेलगायत सामग्रीको आयातमा प्रतिबन्ध गरिएको थियो । यस्तै राष्ट्र बैंकले आयात निरुत्साहित गर्न एक हजारभन्दा बढी वस्तुको प्रतितपत्र खोल्दा शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही कारण चालू आर्थिक वर्षमा आयात घट्न गई बाह्य क्षेत्रमाथिको दबाब कम भएको हो । यसबाहेक रेमिट्यान्स आप्रवाहमा आएको वृद्धिले पनि बाह्य क्षेत्रमाथिको दबाब हटेको राष्ट्र बैंकले जनाएको छ ।
१० खर्ब भित्रियो रेमिट्यान्स
चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब पाँच अर्ब १८ करोड रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव चार प्रतिशतले बढी हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ दशमलव चार प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव दुई प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१ दशमलव चार प्रतिशतले वृद्धि भई चार लाख २१ हजार दुई सय ७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा तीन दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३८ हजार नौ सय ७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या एक सय ८५ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर शून्य दशमलव तीन प्रतिशतले बढेको थियो ।
मूल्यवृद्धि सीमाभन्दा माथि
सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धि सात प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको छ । तर, साउनदेखि वैशाखसम्म उपभोक्ता मूल्यवृद्धि सात दशमलव ४१ प्रतिशतले बढेको छ । यो मूल्यवृद्धि पोहोरको तुलनामा केही कम हो । गतवर्ष वैशाख मसान्तमा मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत थियो । यस वर्ष मूल्यवृद्धि केही कम भए पनि सरकारी लक्ष्यभन्दा माथि नै छ । अझ सरकारले आगामी आर्थिक वर्षको बजेटमा करका दरहरू बढाएकाले जेठ र असारमा मूल्यवृद्धि थप बढ्ने आकलन राष्ट्र बैंकको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्म खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि पाँच दशमलव ५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि आठ दशमलव ८९ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार मरमसलाजन्य वस्तुको मूल्य २६ दशमलव ६१ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४ दशमलव ८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ४१ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५ दशमलव ७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १३ दशमलव शून्य आठ प्रतिशत, शिक्षाको १० दशमलव ५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको नौ दशमलव ६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको आठ दशमलव २७ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । चालू आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालू आर्थिक वर्षको १० महिनामा एक अर्ब ६३ करोडले बचतमा रहेको छ ।
सरकारको चालू खाता भने अझै पनि घाटामा रहको छ । वैशाख मसान्तसम्म चालू खाता घाटा ५४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । चालू खाता घाटामा देखिए पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा सुधार भएकोे देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको चालू खाता पाँच खर्ब ४५ अर्ब छ करोडले घाटामा रहेको थियो । गतवर्ष चार अर्ब ५५ करोड अमेरिकी डलरबराबरले घाटामा रहेको चालू खाता घाटा चालू आर्थिक वर्षकोे १० महिनामा ४२ करोड ४५ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २० दशमलव पाँच प्रतिशतले कमी आई छ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ३६ करोड रुपैयाँ मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ९९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।
२०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटीअन्तर्गत दोस्रो किस्ताबापतको छ अर्ब ८८ करोड (अमेरिकी डलर पाँच करोड २७ लाख) प्राप्त भएको छ ।