काठमाडौं । शनिवार राती चीनको औपचारिक भ्रमणका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना त्यसतर्फ प्रस्थान गरेका छन् । तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाईना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना चीनतर्फ प्रस्थान गरेका हुन् ।
तिब्बतमा आगामी जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, प्रदिप यादव, धवल शमशेर जंगबहादुर राणा तथा राष्ट्रियसभाका सदस्यहरु उदयबहादुर बोहरा, हरिराम चौधरी र दिपा गुरुङ एबम तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा उक्त प्रतिनिधिमण्डलमा सहभागी छन् ।
अध्यक्ष तिमिल्सिनाले भ्रमणका क्रममा बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समिति (स्टाण्डीङ कमिटी अफ द नेशनल पिपुल्स कंग्रेस) का अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङगलगायतसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल औपचारिक भ्रमण सम्पन्न गरी २१ जुन २०२३ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रबक्ता एकराम गिरीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।