काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधा दर्जन धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) कम्पनीलाई कारबाही गरेको छ । बोर्डबाट जारी भएका निर्देशनहरू उल्लंघन गरेको पाइएपछि बोर्डले कारबाही गरेको हो ।
चालू आर्थिक वर्ष २०७९/८० मा बोर्डले निर्दिष्ट गरेको ऐन नियमहरू उल्लंघन गरेपछि सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशुल सेक्युरिटिज, थ्राइभ ब्रोकरेज कम्पनी, त्रिशक्ति सेक्युरिटिज र श्रीकृण सेक्युरिटिजलाई कारबाही गरिएको जनाएको छ । बोर्डले चारवटा ब्रोकर कम्पनीलाई नगद जरिबाना तिराएको छ भने दुईवटालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कैफियतमा सचेत मात्रै गराइएको जनाएको छ ।
बोर्डका अनुसार सनी सेक्युरिटिज (ब्रोकर नं. ४२)लाई तोकिएको समयभित्र आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस नगरेको तथा म्याद थपको लागि निवेदन समेत पेस नगरेको पाइएपछि बोर्डले २०७९ पुस २४ गते धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम १० हजार रुपैयाँ जरिबाना तिराएको छ । यस्तै इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) लाई पनि बोर्डले २०७९ पुस २४ गते नै कारबाही गरेको हो । इम्पेरियलले पनि आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेस नगरेपछि धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को (४) बमोजिम ७५ हजार रुपैयाँ जरिबाना तिराइएको बोर्डले जनाएको छ । बोर्डले त्रिशुल सेक्युरिटिज (ब्रोकर नं. २९) लाई पनि २०७९ पुस २४ गते नै कारबाही गरेको छ । त्रिशुलले पनि आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेस नगरेपछि धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को (४) बमोजिम ७५ हजार रुपैयाँ जरिबाना तिराइएको बोर्डले जनाएको छ ।
बोर्डले थ्राइभ ब्रोकरेज कम्पनी (ब्रोकर नं. १३) लाई पनि ५० हजार जरिबाना गरेको छ । यो ब्रोकरले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० मा भएको व्यवस्थाअनुरूप शाखा कार्यालय (संकलन केन्द्र) खोल्न बोर्डबाट स्वकृति लिनुपर्नेमा बोर्डबाट स्वकृति नलिई शाखा कार्यालय स्थापना गरी सेवा प्रदान गरेको देखिएकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को (६) बमोजिम ५० हजार रुपैयाँ जरिवाना तिराइएको बोर्डले जनाएको छ ।
बोर्डले त्रिशक्ति सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिजलाई ग्राहक पहिचान विवरण (केवाईसी) अध्यावधिक नगरेको पाइएपछि सचेत गराएको जनाएको छ । दुवै कम्पनीलाई २०७९ मंसिर २५ गते कारबाही गरिएको बोर्डको भनाइ छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ को दफा १० बमोजिम ग्राहक पहिचान विवरण अद्यावधिक गरेको नदेखिएकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ फ. को उपदफा (१) को खण्ड (क) बमोजिम पहिलो पटक लिखितरूपमा सचेत गराइएको बोर्डले जनाएको छ ।