नानजिङ । चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बंगलादेशको राजधानी ढाकाका लागि हवाई मार्गबाट कार्गो सेवा सञ्चालनमा आएको छ । नानजिङ भन्सारका अनुसार नानजिङबाट ढाकाका लागि १७ दशमलव छ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको पुष्टि गरेको छ ।
चीनको सहरबाट दक्षिण एशियालाई जोडनेगरी कार्गो सेवा सुरु भएको यो नै पहिलो हो । प्रत्येक साताको बुधबार, बिहीबार र शुक्रबार कार्गो सेवाले नियमित उडान भर्नेछ ।
चिनियाँ भन्सार कार्यालयका अनुसार हवाई कार्गो सेवाबाट वार्षिक दुई हजार आठ सय टन भन्दा बढी मालसामान ढुवानी हुनेछ । नानजिङ आसपासमा रहेका कपडा उद्योगबाट उत्पादित कपडा अन्तर्राष्ट्रिय उपभोक्तासम्म पु-याउने उद्देश्य अनुरुप बंगलादेशको ढाकामा सिधा हवाई कार्गो सेवा सुरु गरिएको बताइएको छ । नयाँ खोलिएको कार्गो मार्गले स्थानीय उद्योगहरुलाई वस्तु निर्यात गर्न सहज पहुँच पुग्ने विश्वास चिनियाँ अधिकारीहरुको छ ।