काठमाडौं । सिंहदरबारमा जारी बैठकमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल भइरहेको छ । संसदीय सुनुवाइ समितिको बैठक जारी छ । समितिको बुधबारको बैठकमा प्रधानन्यायाधीशबिरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको सभापतित्वमा जारी बैठकले बुधबार उजुरीकर्तासँगको छलफल सकेर जेठ ३२ गते कार्कीमाथिको सुनुवाइ सक्ने तयारी गरेको छ । यस अघि बैठकमा समिति सदस्य सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले उजुरीहरु फरक–फरक खालका भएका कारण सबै उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुभन्दा उस्तै प्रकृतिका उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।
उजुरीहरु अनुमान गरेअनुसार नै आएको बताउँदै सांसद महेश बर्तौलाले आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । कतिपय उजुरीहरु राजनीतिक प्रकृतिका भएका कारण ती उजुरीलाई फरक–फरक ढङ्गले छलफल गर्नुपर्ने उनको भनाइ थियो ।