दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । बुधबार माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिएको बताएका हुन् ।
“समाजवादी क्रान्ति सिधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ”, प्रधानमन्त्री दाहालले भने ।
उनले केही दिनमा मोर्चाको घोषणा हुने जानकारी दिंदै समाजवादी संयुक्त मोर्चाको वैचारिक दस्तावेजलाई अन्तिम रुप दिइने बताए । “हिजोको एकता कायम राख्न सम्भव भएन । तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन”, अध्यक्ष दाहालले भने, “फेरि एकताका लागि पहल गर्नुपर्नेछ । समाजवादी मोर्चाको दस्तावेज टुङ्ग्याएका छौँ ।”
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई मिलाएर समाजवादी मोर्चा बनाइने उनको भनाइ छ । जनताको ठूलो हिस्सालाई सङ्गठित गरेर मात्रै समाजवादी क्रान्ति सम्पन्न गर्न सकिने जनाउँदै उनले वामपन्थी र कम्युनिष्टबीच एकताको अभियान सञ्चालन गरिने बताए ।
नेपालमा परिवर्तनका लागि जनताले गरेको क्रान्ति नितान्त मौलिक खालको रहेको उल्लेख गर्दै उनले आफ्नै अनुभवमा क्रान्ति सम्पन्न भएको बताए । “हाम्रो क्रान्ति मौलिक र जीवन्त छ । हामीले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति ग¥यौँ । हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ”, प्रधानमन्त्रीले दाहालले भने ।
“फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । यसभित्र ठूलो अर्थ छ । जनताको ठूलो हिस्सालाई सङ्गठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन”, प्रधानमन्त्री दाहालले भने, “यसलाई सबैले गम्भीररूपमा सोच्न जरुरी छ । देशका सच्चा वामपन्थी र कम्युनिस्टबीच एकताका लागि व्यापक बहस चलाउँछौँ ।”
विसं २०७८ पुसमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनको दस्तावेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसमा समाजवादको नेपाली विशेषता र मौलिकतासहित क्रान्तिको आधार तयार पार्ने संश्लेषण गरिएको बताए ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचार विरोधी अभियानमा कसैसँग सम्झौता नगरिने विश्वास दिलाए । “भ्रष्टाचारलाई निर्मूल पारेर नै देश निर्माण गर्न सकिन्छ, पार्टी पुनःनिर्माण गर्न सकिन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा हामी कसैसँग सम्झौता गर्दैनौँ”, उनले भने । नक्कली भूटानी शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै उनले अब भ्रष्टाचारसम्बन्धी प्रकरणको फाइल खोल्दै जाने बताए ।