काठमाडौं । बुधबार दाङको बेलझुण्डीमा आयोजित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तक राजनीतिक आस्था एवम् दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी रहेको बताए ।
सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
उनले कर्तव्यप्रतिको निष्ठा, आफूले आर्जेको ज्ञानप्रतिको विश्वास र दृढ इच्छाशक्तिका साथ यस विश्वविद्यालयको मर्यादा र प्रतिष्ठालाई ध्यानमा राखी अनुशासित भएर राष्ट्रसेवा र लोकहितमा प्रवृत्त हुन छात्रछात्रालाई आग्रह गरे । उनले विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप र दक्षताको व्यावहारिक प्रयोगको बेला आएको उल्लेख गरे
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको बताए । सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्द्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्य र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
उनले विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष बनाउने विषयलाई सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको बताए । अध्ययन गर्नु वा ज्ञान प्राप्त गर्नु र त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै उनले दीक्षित विद्यार्थीलाई राष्ट्रको नवनिर्माणमा आफ्नो बौद्धिक क्षमता, शारीरिक शक्ति र मानसिक एकाग्रताको भरपूर उपयोग गर्न समर्थरहनु भनी शुभकामना दिए ।
“वर्तमान अवधि गुणस्तरका लागि प्रतिस्पर्धाको समय हो । आफ्नो क्षमता र स्तरवृद्धि गर्दै जाने हो भने अवसर स्वतः प्राप्त हुँदै जान्छन् । यो सत्यलाई हामी सबैले मनन गर्नुपर्छ”, उनले भने ।
सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न लागिपरेको उल्लेख गर्दै उहाँले मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु पनि त्यत्तिकै आवश्यक रहेको बताए ।
विविध कारणले गर्दा नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह विगत बाह्र वर्षयता सम्पन्न हुन नसकेकातर्फ पदाधिकारीको ध्यानाकर्षण गराउँदै उनले छात्रछात्राको वर्तमान र भविष्यसँग गाँसिएका यस्ता कार्यक्रमलाई समयमै आयोजना गर्न विश्वविद्यालय प्रयत्नरत रहनुपर्ने बताए ।