दोलखा,बैशाख ४
जिल्ला प्रशासन कार्यालय दोलखाले अझै दुई महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको जनाएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउन अवधिभर जिल्लामा खाद्यान्नको कुनै समस्या नहुने जिल्ला प्रशासनले जनाएको छ ।
लकडाउनको कारण ढुवानीमा कुनै समस्या आईपनि आगामी दुई महिना जिल्लामा खाद्यान्न संकट नहुने प्रशासन कार्यालले जनाएको छ । डेढ लाखभन्दा बढी मान्छेलाई दुई महिनासम्म खान पुग्ने खाद्यान्न मौज्दात रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । जिल्ला सदरमुकाम चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, मागादेउराली र किर्नेटार बजारमा एकलाख ५५ हजार जनसंख्यालाई २ महिनासम्म खान पुग्ने चामल, दाल, नुन, तेल र ग्यास स्टोर रहेको प्रजिअ शर्माले बताए । प्रजिअ शर्माका अनुसार जिल्लामा ३ लाख ६३ हजार किलोग्राम चामल मौज्दात रहेको छ।
दाल ३१ हजार किलोग्राम, आयोडिन नुन १५ हजार किलोग्राम, खाने तेल २७ हजार लिटर, ग्यास २६७० सिलिण्डर मौज्दात रहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । त्यसैगरी कुखुराको दाना २ लाख ८८ हजार पाँचसय किलोग्राम मौज्दात रहेको प्रजिअ शर्माले जनाए । उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले लकडाउनको अवधिभर कुनै खाद्यन्न संकट नपरेको र आगामी दिनमा पनि नहुने दाबी गरे । खाद्यन्न, औषधिलगायतका सामग्रीको ढुवानी भइरहेको भन्दै उनले अत्यावश्यक वस्तुको कमी हुन नदिने बताए ।
उद्योग वाणिज्य संघसँगको सहकार्यमा जिल्ला प्रशासनले बजार अनुगमन समेत गरेको छ । साथै जिल्लाका स्थानीयतहले अतिविपन्न तथा कमजोर आर्थिक अवस्था रहेका व्यक्ति तथा परिवारको लागत संकलन गरिरहेको र आवश्यकताको आधारमा निर्णय गरेर खाद्यान्न राहत समेत उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दोलखा दुई स्थानीय तहहरु विगु र बैतेश्वर गाउँपालिकाले पालिकाभित्रका अतिविपन्न परिवारलाई राहत वितरण गर्न तथ्यांक सार्वजनिक गरिसकेका छन् ।