किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।
डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले ड्यामको नयाँ बस्तीको पहाड कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । गत वैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो ।
माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि उक्त बाँध अरुण नदीले आफैँ कटान गरेर खोल्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेका कारण सर्तक रहन सुरक्षा निकायमार्फत जानकारी गराइएको उनको भनाइ छ ।
अस्थायी बाँधको नयाँ बस्तीतिर कटान गरेर अरुण बग्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले सर्तक रहन आग्रह गरेको हो । अरुण नदी थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएर जमेपछि करिब तीन किलोमिटरसम्म ताल बनेको छ । जिल्ला प्रहरी कार्यालयले अरुण नदीको तटीय क्षेत्रका बासिन्दालाई सजग हुन आग्रहसमेत गरेको छ ।