काठमाडौं,घोराही सिमेन्टको आईपीओमा लगानी गर्ने लगानीकर्ता फस्ने देखिएको छ । कम्पनीको वित्तीय स्थिति राम्रो नभएको अवस्थामा ऋण तिर्नकै लागि नेपाल धितोपत्र बोर्डसमेतको सेटिङमा काजग मिलाएर सर्वसाधारणका लागि सेयर निष्काशन गर्न सफल भएको छ । उद्योगमा कार्यरत कर्मचारीले नै सेयरमा लगानी गर्नेहरू फस्ने बताएका छन् ।
जेठ ३२ गतेबाट प्रिमियम मूल्यमा निष्काशन भएको सेयरमा पहिलो दिनको साँझ पाँच बजेसम्म एक लाख २२ हजार आठ सय २८ जना सर्वसाधारणले ५१ लाख ३५ हजार एक सय कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । कुल दुई अर्ब २३ करोड ३७ लाख ६८ हजार पाँच सय रुपैयाँबराबरको आवेदन परेको छ । कम्पनीले कुल ६९ लाख ११ हजार छ सय ७० कित्ता आईपीओ निष्काशन गरेको छ । उद्योगले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँमा सेयर बिक्री खुला गरेको हो । उद्योगको सेयर बिक्री निष्काशन छिटोमा असार ४ गते र ढिलोमा असार १४ बन्द हुनेछ । कम्पनीको भ्रामक विवरण प्रस्तुत गरेर आईपीओ जारी गरे पनि ७४ दशमलव २९ प्रतिशत सेयर एक दिनमै बिक्री भइसकेको छ । सीडीएसका अनुसार अब कम्पनीको बिक्री हुन बाँकी सेयर २५ दशमलव ७१ प्रतिशत मात्र मात्रै छ ।
उद्योगले जारी पुँजी तीन अर्ब ९७ करोड १९ लाख छ सय रुपैयाँको २० प्रतिशत अर्थात् ७९ करोड ४३ लाख ८० हजार एक सय रुपैयाँबराबरको ९७ लाख ४३ हजार आठ सय एक कित्ता सेयर सार्वजनिक निष्काशन गरेको हो । यसमध्ये पाँच प्रतिशतले हुनआउने तीन लाख ९७ हजार एक सय ९० कित्ता सेयर स्थानीय उद्योग प्रभावितका लागि र १० प्रतिशतले हुनआउने सात लाख ५४ हजार छ सय ६१ कित्ता वैदेशिक रोजगारीमा रहेकालाई छुट्याएको थियो ।
यस्तै, सामूहिक लगानी कोषलाई पाँच प्रतिशतका दरले तीन लाख ७७ हजार तीन सय ३१ कित्ता र उद्योगमा कार्यरत कर्मचारीहरूलाई पाँच प्रतिशतका दरले तीन लाख ७७ हजार तीन सय ३१ कित्ता सेयर छुट्याएको थियो । यसरी छुट्याइएको सेयर निष्काशनपछि परेको आवेदनका आधारमा उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई ७७ हजार दुई सय ९० कित्ता, विदेशमा रोजगारीमा रहेका नेपालीलाई छ लाख छ हजार तीन सय ५० कित्ता, सामूहिक लगानी कोषलाई तीन लाख २८ हजार नौ सय ६१ कित्ता र कम्पनीका कर्मचारीहरूलाई १९ हजार पाँच सय ३० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । बाँडफाँटपछि बाँकी रहेको आठ लाख ७४ हजार तीन सय ८२ कित्ता सेयरसहित ६९ लाख ११ हजार छ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्काशनमा ल्याएको हो ।
यो सबै सेयर उद्योग सञ्चालकको जालझेलका आधारमा बिक्रीमा ल्याएको उद्योगमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् । घोराही सिमेन्टको माउ कम्पनी त्रिवेणी ग्रुपमा कार्यरत एक कर्मचारीका अनुसार घोराहीले पहिले महँगो मूल्यमा सेयर खरिद गर्न कम्पनीमा कार्यरत सबै कर्मचारीहरूलाई उर्दी नै जारी गरेको थियो । तर, कर्मचारीहरूलाई कम्पनीको आन्तरिक अवस्थाबारे जानकारी भएको, उद्योग प्रभावित क्षेत्रका जनतासँगको मुआब्जा विवाद, स्थानीय जनताको निरन्तरको विरोधलगायत कारणले सेयर नकिन्ने निर्णय गरेका थिए ।
तर, नेतृत्वले जबर्जस्ती सेयर खरिद गर्न उर्दी जारी गरेपछि कम्पनीमा कार्यरत कर्मचारीहरूले व्यवस्थापनको उक्त उर्दीविरुद्ध नेपाल स्टक उक्सचेन्ज लिमिटेडमा उजुरी दिने चेतावानी दिएका थिए । ती कर्मचारीका अनुसार त्यही चेतवानीपछि घोराही सिमेन्टले कम्पनीमा कार्यरत कर्मचारीको लागि सेयर खरिद गर्न स्वैच्छिक निर्णय गर्नसक्ने बताएको थियो । ‘बिहीबार बिक्री खुला गरेको ६९ लाख कित्तामध्येको आठ लाख कित्ता उद्योग प्रभावित क्षेत्रका जनताले नकिनेको सेयर हो’, ती कर्मचारीले भनेका छन् ।
उद्योगको वित्तीय अवस्था राम्रो नभए पनि प्रोपोगान्डा र अनेकौँ हतकण्डा अपनाएकै भरमा सेयर निष्काशन गर्न सफल भएको ती कर्मचारीको दाबी छ । ‘हेरिराख्नुहोस् उद्योगको सेयर खरिद गर्ने लगानीकर्ताहरू डुब्न सक्छन्’, ती कर्मचारीले भने, ‘अन्य कम्पनीको साधारण सेयरजस्तै सम्झेर लगानीकर्ताहरूले सेयर खरिद गरे, तर यसको वास्तविकता अर्कै रहेको छ ।’