बेइजिङ । चीनमा युवा बेरोजगारी दर बढेर हालसम्मकै उच्च पुगेको छ । चीनको राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार मे महिनामा १६ देखि २४ वर्ष उमेरसमूहका युवाहरूको बेरोजगारी दर २० दशमलव आठ प्रतिशत पुगेको छ ।
चीनमा अप्रिल महिनामा पनि युवा बेरोजगारी दर बढेको थियो । अप्रिलमा बेरोजगारी दर २० दहमलव चार प्रतिशत थियो । लगातार दोस्रो महिनामा पनि बेरोजगारी दर बढ्नु चिन्ताको विषय भएको चिनियाँ अधिकारीहरूले बताएका छन् । तथ्यांक कार्यालयका अनुसार शहरी क्षेत्रमा सबै उमेरसमूहको बेरोजगारी दर पाँच दशमलव दुई प्रतिशत रहेको छ ।
बेरोजगारी दर बढे पनि एक वर्षअघिको तुलनामा मे महिनामा औद्योगिक उत्पादन तीन दशमलव पाँच प्रतिशतले बढेको छ । विश्लेषकहरूले एक वर्षअघिको तुलनामा वर्षको पहिलो पाँच महिनामा स्थिर सम्पत्ति लगानीमा चार दशमलव चार प्रतिशतले बढ्ने भविश्यवाणी गरेका थिए । तर, यो अवधिमा चार प्रतिशतले बढेको छ । यद्यपि तथ्यांक कार्यालयले चीनको राष्ट्रिय अर्थतन्त्रले रिकभरी गतिलाई कायम राखेको उल्लेख गरेको छ ।