कञ्चनपुर । नेपाली सीमामा हाइवेको सर्भे गर्न आएको भारतीय टोलीलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली सीमा नाका गड्डाचौकीमा सर्भेको सामानसहित आएको देहरादुनको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाका अनुसार सर्वेक्षण विभाग देहरादुनमार्फत आएको निजी कम्पनीको टोलीले गड्डाचौकीको भुजेल पुलदेखि सुकासालसम्मको भूभागमा सर्भे गर्दै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरु यूपी ८०जीजे३९४५ नम्बरको भारतीय गाडीमा सर्भेका विभिन्न सामाग्रीसहित आएका थिए । नेपाललाई कुनै जानकारी नदिई हाइवेको सर्भे गरिरहेको पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।