काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार शुक्रबारबाट सुरु भएको छ । एकीकृत कारोबारको शुभारम्भ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष दिपक खनालले आदर्श लघुवित्त वित्तीय संस्था बुद्धनगर शाखाकी असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई एम पासबुक दिई तथा ब्यानर अनावरण गरी सम्पन्न भएको संस्थाले जानकारी दिएको छ ।
संस्थापक अध्यक्ष पिताम्बरप्रसाद आचार्य उपस्थित भई शुभकामना दिएको उक्त कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वासुप्रसाद उपाध्याय र सदस्य सुसन कर्माचार्यले प्राप्तिसम्बन्धी कार्यमा आफ्नो अनुभव सुनाएका थिए । दुवै संस्थाका सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको उक्त शुभारम्भ कार्यक्रममा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्यसहित संस्थाको एकीकृत कारोबारपछिको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
सुरुवाती समयमा ८१ लाख २० हजार चुक्ता पुँजीबाट सुरु भएको यो संस्थाको एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी एक अर्ब ५५ करोड १० लाख पुगेको छ । अब संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखासञ्जाल संख्या एक सय ५६ पुगेको छ । सबै क्षेत्रमा गरी कुल दुई लाख ५९ हजार नौ सय ५५ सदस्यहरूको आठ अर्ब ८२ करोड ८८ लाख बचतसमेत लगानीमा रहेको साँवा १९ अर्ब ५६ करोड ५१ लाख पुगेको छ ।
उक्त कार्यक्रममा साबिक आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले मन्तव्य राखेकी थिइन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष पिताम्बरप्रसाद आचार्य र आदर्श लघुवित्त लिमिटेडका असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेका थिए ।