महेन्द्रनगर, धनुषा । मधेस प्रदेशसभा अन्तर्गतका सात विषयगत समितिमध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये तीन समितिमा महिला सभापति चयन भएका छन् ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिमध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा वातावरण, सार्वजनिक लेखा र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति सर्वसम्मत चयन गरिएको हो ।
विकास समितिमा जनता समाजवादी पार्टी नेपालका शारदा शङ्करप्रसाद कलवार, अर्थ तथा योजनामा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र)की शारदादास पहाडी, सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) की मञ्जुकुमारी थापामगर र महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टीकी रुपाकुमारी यादव सभापतिमा चयन भएका छन् ।
राससका अनुसार विषयगत समितिका सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आइतबार पद तथा गोपनियताको शपथ गराए । उनीहरुले आजै पदभार पनि ग्रहण गरे ।
कृषि तथा भूमि व्यवस्थापन र प्रदेश मामिला समितिको सभापति चयन हुन बाँकी छ । मधेस प्रदेशमा अर्थ तथा योजना समितिमा सभापतिसहित ११, कृषि तथा भूमि व्यवस्थापन समितिमा १२, प्रदेश मामिला समितिमा नौ, प्राकृतिक स्रोत तथा वातावरण समितिमा १२, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा १३, विकास समितिमा १२ र सार्वजनिक लेखा समितिमा १५ सदस्य रहन्छन् ।