काठमाडौँ । आइतबार अध्यक्ष केपी शर्मा ओली र बामदेव गौतमबीच भेटवार्ता भएको छ । भेटघाट कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले बताए । वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार भएका छन् ।
ओली–गौतमबीचको कुराकानीमा गौतमले पहिला नेता कार्यकर्ताको व्यवस्थापनमा जोड दिएका थिए भने ओलीले पहिला तपाईँ आउनुस् अनि व्यवस्थापन गरौंला भन्ने जवाफ दिएका छन् । गौतमले नेकपा एकता राष्ट्रिय अभियानमार्फत आफ्ना राजनीतिक गतिविधि गर्दै आएका छन् ।
त्यस्तै ओलीले गौतमले राखेका विषयमा पार्टी बैठकमा राख्ने र छलफल गर्ने विश्वास दिलाएका छन् । नेता गौतमले अर्कोपटक पुन बसेर छलफल गर्दै टुङ्ग्याउने दुई नेताबीच सहमति भएको पनि बताए ।
उनको पार्टी र अभियान प्रभावकारी नभएपछि एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीसँग निरन्तर संवादमा रहेका गौतम सत्ता पक्षले समाजवादी मोर्चा बनाउने निश्चित भएपछि एमालेमा समाहित हुन तयार भएका हुन् ।