काठमाडौं । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बीमाको दायरामा आएको जनसंख्या जम्मा १७ दशमलव २६ प्रतिशत छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव २६ प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको वैशाख मसान्तमा जम्मा १६ प्रतिशत जनसंख्या बीमाको दायरामा थियो ।
बीमा कम्पनीहरू म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमामा सीमित हुन खोज्दा बीमाको वास्तविक पहुँच निकै कम देखिन्छ । यी तीन क्षेत्रलाई समावेश गर्ने हो भने बीमाको दायरामा आएको जनसंख्या ४३ दशमलव ६४ प्रतिशत पुग्छ । यो तथ्यांक गत आर्थिक वर्षको वैशाखमा ३९ दशमलव १५ प्रतिशत थियो ।
प्राधिकरणले बीमाको पहुँचको तथ्यांक बताउँदा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई समेत जोडेर प्रचार गर्ने गरेको छ । तर, यसलाई समावेश गरेर दायरा बढेको देखाउन खोज्नु गलत भएको बीमाका जानकारहरू बताउँछन् । बीमा कम्पनीहरू पनि सजिलै बीमाशुल्क उठाउन पाउने भएपछि यिनै तीन क्षेत्रको व्यवसाय छोप्न दौडिने गरेका छन् । नयाँ–नयाँ व्यवसाय विस्तारमा बीमा कम्पनीहरूको योजना नै छैन ।
यी तथ्यांकले बीमा क्षेत्रको आधाभन्दा धेरै व्यवसाय म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमामा सीमित भएको देखाउँछ । यी तीन क्षेत्रलाई समावेश नगर्दा जम्मा १७ दशमलव २६ प्रतिशत जनसंख्या बीमाको दायरामा छ भने यसलाई समावेश गर्दा २६ दशमलव ३८ प्रतिशत विन्दुले बढेर ४३ दशमलव ६४ प्रतिशत पुग्छ । प्राधिकरणले बीमा कम्पनीहरूलाई मर्जरमा जान बाध्य पारिएपछि शाखा कार्यालय र कर्मचारीको संख्यामा आएको कमीले बीमाको पहुँच झनै खुम्चिएर जाने देखिन्छ ।
जीवन र निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बीमितबाट उठाएकोे बीमाशुल्क गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ६७ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका १५ जीवन बीमा र १४ निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल रकम एक खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले एक खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख ४० हजार रुपैयाँ उठाएका थिए ।
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले मात्र संकलन गरेको कुल बीमाशुल्क रकम ३२ अर्ब ६८ करोड ९६ लाख ११ हजार रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षकोे वैशाख मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब १९ करोड ७१ लाख २३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब १४ अर्ब १० करोड ९७ लाख ४४ हजार रुपैयाँ संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब १० अर्ब ४० करोड २१ लाख १८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार निर्जीवन बीमालेखको कुल संख्या शून्य दशमलव एक प्रतिशतले बढेर २३ लाख ५० हजार छ सय ५२ पुगेको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म यस्तो संख्या २३ लाख ४८ हजार दुई सय ३२ रहेको थियो । यस्तै, जीवन बीमालेखको संख्या १२ दशमलव २२ प्रतिशतले बढेर एक करोड ३८ लाख ८३ हजार हजार तीन सय ५७ पुगेको छ । गत आर्थिक वर्षको वैशाखमा यस्तो संख्या एक करोड २३ लाख ७१ हजार छ सय ९१ थियो ।
बीमा प्राधिकरणले बीमाको पहुँच गतवर्षको तुलनामा बढेको बताएपनि बीमा व्यवसायमा भने त्यति धेरै वृद्धि भएको देखिँदैन । बीमा कम्पनीहरूको शाखा कार्यालयको संख्या १२ दशमलव ९३ प्रतिशतले घटेको छ । बीमा कम्पनीहरूमा मर्जर नीति लिएपछि शाखा कार्यालयको संख्या घटेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षको वैशाख मसान्तसम्म बीमा कम्पनीहरूको शाखा कार्यालय संख्या तीन हजार तीन सय ४८ वटा रहेकोमा चालू आर्थिक वर्षको वैशाखसम्म घटेर दुई हजार नौ सय १५मा झरेको छ । बीमा कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको कुल संख्या पनि पछिल्लो अवधिमा चार दशमलव ९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको वैशाख मसान्तमा बीमा कम्पनीहरूमा कार्यरत कुल कर्मचारी संख्या ११ हजार आठ सय ७५ रहेकोमा अहिले यस्तो संख्या घटेर ११ हजार दुई सय ८६ पुगेको छ ।