काठमाण्डौं,वैशाख ७
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा शुक्रबार एकैदिन देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा दुई जनामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए । उदयपुरमा एकै ठाउँमा भेटिएका ती १२ जनामध्ये एक जना मात्र नेपाली हुन् । अरु सबै भारतीय नागरिक हुन् । शनिबार पनि नेपालभित्रै थप एकजना भारतीयमा कोरोना संक्रमण भएको फेला परेको छ ।
नेपालमा एकै दिन यति धेरै सङ्ख्यामा सङ्क्रमित रहेको पहिलोपटक हो । यसअघि छिटफुटरुपमा परीक्षणका क्रममा सङ्क्रमित भेटिएका थिए । योसँगै सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक गत चैत १० गते विदेशबाट आएका व्यक्तिमा सङ्क्रमित देखिएको थियो । उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षणका लागि पठाएपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यसअघि गत मङ्गलबार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा सङ्क्रमण देखिएको हो ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार उदयपुरमा सङ्क्रमण देखिएका सवै पुरुष रहेका र तिनीहरू नुरी मस्जिदमा रहेका थिए । यसैगरी चितवनमा दुई आमा छोरालाई सङ्क्रमण देखिएको हो । ती सङ्क्रमितको सम्पर्क (कन्याट्क टे«सिग) भइरहेको छ । उदयपुरमा सङ्क्रमित १२ जना पुरुष ३४ वर्ष, २९ वर्ष, २६ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २२ वर्ष, २५ वर्ष, २० वर्ष, ४० वर्ष र २९ वर्षका रहेका छन् । उनीहरुलाई विराटनगर लगेर कोशी अस्पतालमा उपचार गर्न थालिएको सरकारले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । साथै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य जारी राखिएको पनि सरकारले जनाएको छ ।
यसैगरी भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार राप्ती नगरपालिका–८ ब्रह्मनगरका ६३ वर्षीय महिला र उनका २७ वर्षका छोरामा कोरोना सङ्क्रमण भएको हो । उनीहरु दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ आएका हुन् ।
यसैगरी कोरोना लागेपछि उपचारका लागि अस्पताल भर्ना भएका दुई महिला शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । टेकुको शुक्रबार ट्राफिक अस्पतालबाट काठमाडौंकी प्रसिद्धि श्रेष्ठ डिस्चार्ज भएकी हुन् । उनी नेपालकै दोस्रो कोरोना पीडित हुन् । उनी चैत ४ गते फ्रान्सबाट काठमाडौं आएकी थिइन् । भियतनामको साथीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी चैत ९ गते परीक्षणका लागि टेकु पुगेकी थिइन् ।
नमूना परीक्षणमा कोरोना पुष्टि भएपछि उनको त्यही उपचार सुरु गरिएको थियो । माघ ९ गते कोरोना देखिएका एक युवक पनि उपचार गरेर यसअघि नै घर फर्किसकेका छन् । त्यस्तै, शनिबार नै बागलुङमा एक वृद्धा पनि कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ६५ वर्षीया ती वृद्धालाई चैत २० गते कोरोना भएको पुष्टि भएको थियो । उनी बेल्जियमबाट नेपाल आएकी थिइन् । उनलाई धौलागिरि अस्पतालमा उपचार गरिएको थियो ।