काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ब्याज भुक्तानीमा छुट दिने भएको छ । बैंकका अनुसार राष्ट्रको व्यावसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको पाँच प्रतिशत रकम सम्पूर्ण ऋणिहरूलाई छुट दिने निर्णय बैंकले गरेको हो ।
ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभर ड्यु, नर्मल तथा पेनाल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिनेछ । ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता/जम्मा गरिनेछ । यो अवसरको लाभ लिन बैंकले सम्बन्धित सम्पूर्ण ऋणीहरूलाई आग्रह गरेको छ ।
बैंकले बैंकको हाल सातवटै प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्युआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ तथा विनाइन्टरनेट चल्ने युएसएसडी बैंकिङ सेवासमेत सञ्चालनमा रहेका छन् ।