काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) तथा इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)बीच सम्झौता भएको छ । संघका अनुसार पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्तरूपमा सञ्चालन गर्न एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित युनिर्भसिटी अफ पोम्पेयु फाब्रा बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट (यूपीएफ–बीएसएम)को वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्तरूपमा सञ्चालन गरिने छ । सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा सुशासनसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरूको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ । सो सम्झौतापत्रमा संघका अध्यक्ष सुनिल केसी र आईआईएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेको जानकारी संघले दिएको छ ।