काठमाडौं । कृषि बिमा कार्यक्रम पुनः सञ्चालन आएको छ । नेपाल बिमक संघले विज्ञप्ति जारी गर्दै यसअघि रोकिएको कृषि बिमा कार्यक्रम सोमबारबाट पुनः सञ्चालनमा ल्याएको जानकारी दिएको हो । संघले विज्ञप्तिमा भनेको छ, सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बिमा शुल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बिमाको अनुदान करिब तीन अर्ब बाँकी रहेको थियो ।
यो अवस्थामा बिमकहरूले अनुदान रकम पाउन बारम्बार पहल गर्दासमेत विभिन्न बहानामा अनुदान रोकिएकाले बिमक संघको निर्णयमा २०८० जेठ सात गतेदेखि कृषिसम्बन्धी बिमालेख जारी गर्न बन्द गरिएको थियो । यही जेठ ३० गते कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरूको संयुक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिबद्धता भएको र बिमालेख जारी गर्न आग्रह भएपछि बिमा सुरु गरिएको हो ।
सहमतिअनुसार केही गरी उक्त समयभित्र अनुदान रकम प्राप्त नभएमा पुनःबिमालेख बन्द गरिनेसमेत संघले दिएको छ । तसर्थ नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका विभागहरू तथा नेपाल बिमा प्राधिकरणलाई कृषि बिमाबापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरिदिनसमेत संघले आग्रह गरेको छ ।