काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंकहरूलाई सेयर धितो कर्जामा कडाइ गरेको थियो । त्यसयता बैंकहरूबाट सेयर धितोमा गएकोे कर्जा ३१ अर्ब ३४ करोड रुपैयाँले घटेको छ ।
नेपाल राष्ट्र बैंकले दुई वर्षअघि एक जना लगानीकर्तालाई एउटा बैंकबाट चार करोड र सबै बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा दिन पाउने सीमा लगाइदिएकोे थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा केही लचक भई एक बैंकबाट चार करोड भन्ने व्यवस्था हटाएर सबै बैंकबाट १२ करोड रुपैयाँसम्म कर्जा दिन पाउने व्यवस्था गरेको थियो । यो नीति अहिले पनि कायम छ । यही व्यवस्थाका कारण सेयर बजार २३ महिना यता घट्दो क्रममा छ । यसबाहेक राष्ट्र बैंकले सेयर धितो कर्जामा एक सय ५० प्रतिशत जोखिम भारित औसत कायम गर्नुपर्ने व्यवस्था गरेपछि पनि कर्जा प्रवाह प्रभावित भएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ असार मसान्तअघि बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जामा एक खर्ब छ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म यस्तो कर्जा घटेर ७४ अर्ब ९३ करोडमा झरेको छ । तथ्यांकअनुसार राष्ट्र बैंकले सेयरमा जाने कर्जामा कडाइ गरेयता ३१ अर्ब ३४ करोड रुपैयाँले कर्जा घटेको देखिन्छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा प्रवाह गरेको कर्जा ९१ अर्ब ४१ करोड रुपैयाँ थियो ।
एक महिनाअघिसम्म सेयरको भाउ पनि घटेको, तरलता अभाव र महँगो ब्याजदरका कारण सेयर धितोमा कर्जाको माग नै न्यून थियो । अहिले फेरि वित्तीय प्रणालीमा पर्याप्त तरलता भए पनि आगामी वर्षका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालिसकेकाले बैंकहरू कर्जा प्रवाहमा त्यति रुचि देखाएका छैनन् । एक बैंकरका अनुसार बैंकहरूले एक करोडसम्मको कर्जा दिए पनि ठूलो कर्जा रोकेका छन् ।
सेयर लगानीकर्ताले सेयर धितोमा लागाउँदै आएको १२ करोडको क्याप र एक सय ५० प्रतिशतको जोखिमभार आगामी मौद्रिक नीतिमार्फत हटाउन माग गरिरहेका छन् । अहिले वित्तीय प्रणालीमा तरलता बढ्दै गएका कारण केन्द्रीय बैंकले केही लचिलो मौद्रिक नीति अवलम्बन गर्ने आकलन गरिएको छ । केही नीतिमा सुधार भएर आए फेरि सेयर धितोमा प्रवाह हुने कर्जा बढेर जानसक्ने बैंकरहरू बताउँछन् ।