काठमाडौं । नेपालका पूर्वी तराई क्षेत्रका चार प्रतिशत बालबालिकाहरूमा दृष्टिदोषको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति संघ र अर्बिसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाले करिब आठ लाख बालबालिकाहरूको आँखा परीक्षण गर्दा चार प्रतिशत बालबालिकाहरूमा दृष्टिदोषको समस्या रहेको देखाएको हो ।
अर्बिसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको परियोजनामार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार ४६० जना बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको थियो । सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजनामार्फत छदेखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाहरूको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षणपश्चात् समस्या देखिएका बालबालिकाहरूलाई निःशुल्क चस्मा तथा शल्यक्रियासमेत गरिएको नेपाल नेत्रज्योति संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले बताए । उक्त परियोजनामार्फत चार वर्षमा दुई हजार पाँच सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरूमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार तीन सय ८० जना बालबालिकाहरूलाई निःशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रियासमेत गरिएको शाहले जानकारी दिए ।
शाहका अनुसार आँखा जाँचगरी वितरण गरिएको चस्मामध्ये ६३ प्रतिशत बालबालिकाहरूले मात्र नियमितरूपमा चस्मा प्रयोग गरिरहेका छन् । ‘चस्मा लगाउँदा साथीहरूले जिस्क्याउने, आमाबाबुले छोरीहरूलाई विवाह गर्न कठिनाइ हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउनेजस्ता कारणहरूले पनि बालबालिकाहरूले नियमितरूपमा चस्मा नलगाएको देखिन्छ’ शाहले भने, ‘यसरी वितरण गरिएका चस्माको नियमित प्रयोगबाट ती विद्यार्थीहरूको शैक्षिकस्तरमा समेत उन्नति भएको छ, उनीहरूको दैनिकीमा समेत धेरै नै परिवर्तन आएको देखिन्छ ।’ नेपाल नेत्रज्योति संघ आरएम केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमार्फत यी जिल्लाहरूमा कार्यक्रम सञ्चालन गरिएको थियो । संघले कोही पनि नागरिकहरू पहुँच र पैसाको अभावमा आँखाको उपचारबाट बन्चित नहून् भन्ने उद्देश्यले विभिन्न दातृ निकायसँगको सहकार्यमा देशैभर निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ ।