काठमाण्डौं,बैशाख ७
कैलालीमा एक युवा कोरोनामुक्त भएर आइतबार घर फर्किएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय कोरोना संक्रमित एक युवक दोस्रो र तेस्रो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका चिकित्सकले फूल दिएर विदा गरेका हुन् ।
भारतबाट आएका उनलाई गत चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर फर्काइएको हो । आइतबार काठमाडौंबाट एक र बागलुङबाट एक÷एक जना महिला पनि कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका थिए । यसअघि नै एक युवा कोरोनामुक्त भएर घर फर्किएका थिए । आइतबारसहित चार जना कोरोना रोग निको भएर घर फर्किएका छन् ।
जमात समूहको तथ्याङ्क बुझाउन निर्देशन
राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका तब्लिग जमातको सङ्ख्या दुई दिनभित्र आयोगलाई बुझाउन निर्देशन दिएको छ । आयोगको आइतबार बसेको बैठकले त्यस्तो निर्देशन दिएको हो । आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको अध्यक्षतामा बसेको बैठकले देशभरका मदरसा र मस्जिदमा जमात समूह भएमा दुई दिनभित्र सम्पूर्ण तथ्याङ्क बुझाउन जमात समूहका अगुवालाई निर्देशन दिएको हो ।
उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीन जना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्याङ्क मागेको हो । अध्यक्ष अन्सारीका अनुसार नेपालमा करिब १०० विदेशी धार्मिक जमात छन् । धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा अड्किएका छन् ।