काठमाडौं । काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यो विषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले १२ असारमा दुबै पक्षलाई बोलाएको चलचित्र संघका कानुन व्यवसायी जयलाल भण्डारीले बताएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । उनले भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद हटाउन भनेका थिए । बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।