ललितपुर । ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ । वि.सं. २०११ मा स्थापना भएको पाटन क्याम्पसको २०७२ को भूकम्पले क्षति पु-याएपछि रातो स्टिकर टाँसिएको अहिलेसम्म पनि रातो स्टिकर हटाएर नयाँ भवन निर्माण भएको छैन ।
वि.सं. २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो स्टिकर टाँसिएको भए पनि आजसम्म तिनै भवनमा पठनपाठन भइरहेको छ । दिनप्रतिदिन जीर्ण बन्दै गएका भवनमा नै पठनपाठन भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसका रुपमा रहेको यस क्याम्पसका विज्ञान विभाग, समाजशास्त्र र मानवशास्त्र विभागको भवनमा त पानी नै चुहिन्छ । प्रत्येक पुराना भवनको झ्यालका सिसा फुटेका छन् । भवन छेउछाउमा फोहरसँगै घाँस उम्रेको छ ।
क्याम्पस प्रमुख कुँवरका अनुसार भूकम्पपछि ताइवानको चुजी फाउन्डेसनले सहयोगस्वरुप १५ वटा अस्थायी टहरा निर्माणका लागि सहयोग गरेको थियो । फाउन्डेसनले पाटन क्याम्पसलाई अन्तर्राष्ट्रिय लेबलको सुविधा सम्पन्न क्याम्पस निर्माण गर्न करिब रु. दुई अर्ब रकम लगानी गर्ने प्रस्ताव गरेको थियो । तर नेपाल सरकारकोे कूटनीतिक पहल पुग्न नसक्दा त्यो काम अगाडि बढ्न सकेन ।
विसं २०३३ मा केही समयका लागि अस्थायीरुपमा निर्माण गरेका टिनले छाएका तीन वटा टहरामा अहिलेसम्म पनि विद्यार्थी अध्ययनरत छन् ।
क्याम्पस प्रमुख लक्ष्मणसिंह कुँवरका अनुसार क्याम्पसको भवन निर्माणका लागि शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले २०७८ सालमा जिम्मा लिएपछि बोलपत्र प्रक्रियामा छ । तर यी भवनलाई भत्काएर नयाँ भवन कहिले निर्माण हुन्छन् भन्ने अझै थाह छैन ।