काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले ४० करोड रुपैयाँ बराबरका खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ । मेलम्ची खानेपानी उपआयोजना–२ अन्तर्गतको वितरण सञ्जाल सुधार कार्यका चारवटा प्याकेजअन्तर्गत बिच्छ्याइएका एक हजार १० किमि पाइपलाइनमध्ये करिव ४० करोड १४ लाख रुपैयाँ बराबरका ७१ दशमलव ७२ किमि खानेपानी वितरण प्रणालीको स्वामित्व बिहीबार एक कार्यक्रमका बीच पीआईडीले बोर्डलाई हस्तान्तरण गरेको हो । पीआईडीका आयोजना उपनिर्देशक एवम् प्रवक्ता चन्द्रकुमार श्रेष्ठका अनुसार महाङ्काल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज नं. १ अन्तर्गत गौशाला क्षेत्र (डीएमए २.४) मा बिच्छ्याइएको २१ दशमलव ५७ किमि तथा प्याकेज नं. २ अन्तर्गत तिलगङ्गा र सिनामङ्गल (डीएमए ३.५) मा बिच्छ्याइएको १७ दशमलव चार किमि खानेपानी वितरण प्रणाली हस्तान्तरण गरिएको छ ।
यसैगरी, खुमलटार पानीपोखरीबाट खानेपानी वितरणका लागि प्याकेज नं. ३ अन्तर्गत नरेफाँट र जडीबुटी (डीएमए ९.१) मा बिच्छ्याइएको २२ दशमलव ६६ किमि र प्याकेज नं. ४ अन्तर्गत कीर्तिपुर पानीपोखरीबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयलगायतका क्षेत्र (डीएमए–टीयू) मा बिच्छ्याइएको १० दशमलव ४५ किमि खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको उनले जानकारी दिए । साथै, खानेपानी वितरण प्रणालीको निर्देशिका, नक्सा, जीआईएस नक्सा र परीक्षण प्रमाणपत्रसमेत बोर्डलाई हस्तान्तरण गरिएको छ ।
खानेपानी मन्त्रालयका सचिव रामआधार साहको उपस्थितिमा पीआईडी, बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) बीच उक्त खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरणसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्र पीआईडीका आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले हस्ताक्षर गरेका छन् । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव साहले काठमाडौंमा दशकौं पुराना खानेपानी वितरण प्रणालीलाई क्रमिकरूपमा विस्थापित गर्दै आधुनिक नयाँ प्रणालीबाट स्वच्छ खानेपानी वितरण सुरु भएको बताए ।
खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीले खानेपानी वितरणमा कुनै कमी कमजोरी हुन नदिई नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्न केयूकेएलले बढी जिम्मेवारीपूर्ण ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताए । यस्तै, पीआईडीका आयोजना निर्देशक राजेन्द्र सापकोटाले केयूकेएलले तालिकामा समावेश गरेर खानेपानीको नयाँ वितरण प्रणालीबाट खानेपानी वितरण गर्न सक्ने अवस्था रहेको बताए । हस्तान्तरण गरिएका चारवटै प्याकेजमा पर्ने क्षेत्रका करिब ८५ हजार घरमध्ये २० हजार चार सयभन्दा बढी घरहरूमा पानीको प्रवाह, चुहावट मापन र परीक्षणलगायतका कार्य सम्पन्न गरी नयाँ वितरण प्रणालीबाट नियमितरूपमा खानेपानी वितरण सुरू भएको छ । बाँकी घरहरूमा पनि पानीको प्रवाह, चुहावट मापन र परीक्षणलगायतका कार्य सम्पन्न गरी खानेपानी वितरण गर्न तदारूकताका साथ कार्य हुँदै आएको पीआईडीले जनाएको छ ।