काठमाडौं । आईएमई ग्रुपअन्तर्गतका केवलकार कम्पनीहरू चन्द्रागिरी हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केवलकारको टिकट मूल्यमा छुट दिने भएका छन् ।
बिहीबार आयोजित एक कार्यक्रममा सशस्त्रको प्रधान कार्यालय र तीनवटै केवलकार कम्पनीहरूले छुट प्रदानसम्बन्धी सम्झौता गरेका हुन् । सम्झौतापत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण कडेँल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक सञ्जीव थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, आश्रित परिवारहरू साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीले केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् । सशस्त्र प्रहरी बलको कल्याणकारी योजनाअन्तर्गत भएको यो सम्झौताबमोजिम यो छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचयपत्र, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले पेन्सन पट्ट तथा आश्रित परिवारहरूले नाता प्रमाणित कागजात देखाउनुपर्नेछ ।