काठमाडौं,नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा ४९ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रवाह गरिएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार यही वैशाख मसान्तसम्ममा रिपोमार्फत चार खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ९६ करोड र ओभरनाइट तरलता सुविधा १७ खर्ब १८ अर्ब आठ करोड रुपैयाँ समेत गरी कुल ४९ खर्ब ४९ अर्ब २२ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको हो ।
यस अवधिमा रिभर्स रिपोमार्फत भने पाँच अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भने विभिन्न किसिमका मौद्रिक उपकरणहरूमार्फत खुद ७३ खर्ब ४२ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो । चालू आवको पछिल्लो १० महिनामा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरूबाट अमेरिकी डलर चार अर्ब ७४ करोड खुद खरिद गरी छ खर्ब १९ अर्ब ७६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब १२ करोड खुद खरिद गरी दुई खर्ब ५६ अर्ब ७३ करोड तरलता प्रवाह गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो १० महिनाको अवधिमा अमेरिकी डलर तीन अर्ब ८६ करोड बिक्री गरी पाँच खर्ब चार अर्ब ११ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ९६ करोड बिक्री गरी चार खर्ब ७५ अर्ब ६८ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने
बैंकिङ क्षेत्रमा अधिक तरलताको समस्या देखिएको छ । विगतमा तरलता अभावका कारण मागअनुसारको कर्जा प्रवाह गर्न नसक्दा बैंकहरूले तरलता अभावको समस्या झेलेका थिए । तर, अहिले भने बैंकिङ क्षेत्रमा निक्षेप बढे पनि सोअनुसार कर्जाको माग बढ्न सकेको छैन । यसले गर्दा पनि बैंकिङ क्षेत्रमा अहिले अधिक अर्थात् चाहिनेभन्दा बढी तरलता रहेको छ । यस्तो तरलताको दुरूपयोग नहोस् भनेर राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर पुनः बजारबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
गतसाता अर्थात् यही असार ७ गते पनि राष्ट्र बैंकले सातदिने अवधिको रिभर्स रिपो जारी गरेर १० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिचेको थियो । आज आइतबार पनि राष्ट्र बैंकले सातदिने अवधिको रिभर्स रिपो जारी गरेर २० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिच्न लागेको हो । राष्ट्र बैंकका अनुुसार रिभर्स रिपोको लागि बैंक तथा फाइनान्स कम्पनीहरूले आज अपराह्न ३ बजेसम्म बोलकबोल पेस गर्नुपर्नेछ भने रिभर्स रिपोको परिपक्व हुने अवधि यही असार १७ गते तोकिएको छ ।
वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलता अभावको समस्या भएको खण्डमा राष्ट्र बैंकले उक्त अभावलाई नियन्त्रणमा राख्नको लागि अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्छ । यसअन्तर्गत राष्ट्र बैंकले विभिन्न समयमा बैंक तथा फाइनान्स कम्पनीहरूलाई आफैँले बिक्री गरेको टे«जरी बिलहरूहरू बोलकबोलको माध्यमद्वारा आफैँले खरिद गरी बजारमा रकम पठाउने गर्छ । अर्कोतर्फ बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरूपयोग नहोस्, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्छ ।