काठमाडौं । कोरियाबाट फर्किएकाहरुले ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका छन् । आइतबार बिहान ग्वार्को पुगेका ‘कोरिया रिटर्नी’हरुले ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा अप्रिय घटना हुन सक्ने सम्भावना भएको हुनाले सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । वैधानिक रुपमा कोरियाबाट फर्किएकाहरुले लामो समयसम्म महामारीका कारण कम्प्युटर प्रणालीमा दिनुपर्ने सीभीटी परीक्षा दिन पाएका थिएनन् । त्यसपछि भएका सीभीटी परीक्षामा पनि पूर्णाङ्क ल्याउने मात्रै पास भएका थिए ।
सन् २०२२को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरु पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका हुन् । नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको लेबर इग्रिमेन्ट जारी नभएको भन्दै कोरिया रिटर्नीहरुले ईपीएस कोरिया शाखा कार्यालय घेराउ गरेका हुन् ।
दुःख गरेर भाषा परीक्षा पास हुँदा पनि एक पटक कोरिया गएर फर्किएकाहरुलाई लैजान रोजगारदाताले आनाकानी गरेकोमा उनीहरुको आपत्ति छ । सरकारले कोरिया सरकारसँग वार्ता गरेर पीडितहरुको माग सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।