काठमाडौं,बैशाख ९
विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिकाले कोरोनाबाट न्यून प्रभावित नेपालबाट आज मंगलबार आफ्ना नागरिक लैजाने भएको छ । अमेरिकाले आफ्नै देशको विमान पठाएर नेपालमा रोकिएका थप अमेरिकीलाई लैजान लागेको हो ।
अमेरिकी नागरिक लिन त्यहाँको विमान मंगलबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । यसअघि अमेरिकाले कतार एयरवेजको जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको थियो ।
यस्तै, रोयल फ्लाइट एयरलाइन्सले एक सय दश रुसी नागरिक सोमबार काठमाडौंबाट लगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको हो ।
रसियाको जोइन्ट स्टक कम्पनीद्वारा सञ्चालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट रुसी नागरिक लिन सोमाबार बिहान काठमाडौँ आएको थियो । लकडाउनका कारण नेपालमा रोकिएका नागरिक लैजान उक्त जहाजले चार्टर्ड उडान भरेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा रसियाले आफ्ना नागरिक जहाज चार्टर्ड गरी स्वदेश फर्काएको जनाइएको छ ।