घोराही सिमेन्ट इन्डष्ट्री नेपाल लिमिटेडले यही जेठ ३२ गते साधारण सेयरको बिक्री खुला ग¥यो । कम्पनीले हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमाफर्त ६९ लाख ११ हजार छ सय ७० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा प्रिमियमबापत तीन सय ३५ रुपैयाँ थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँ अन्तिम मूल्यमा उक्त परिमाणमा साधारण सेयरको बिक्री खुला गरेको थियो । कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही असार ४ गते र ढिलोमा असार १४ गते बन्द हुने पूर्वनिर्धारित कार्यतालिका थियो ।
घोराही सिमेन्टको सेयर बिक्रीकार्य र बन्द हुने निर्धारित कार्यतालिका जे भए पनि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले सेयरको बिक्री निष्काशन तत्कालको लागि स्थगन गरेको छ । बोर्डले असार ४ गते हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड समेतको नाममा पत्र काट्दै सेयर बिक्रीकार्य तत्काल रोक्न निर्देशन दिएकोे थियो । सेयर निष्काशन प्रक्रियामा कैफियत देखिएको भन्दै बोर्डले सेयर बिक्रीकार्य तत्कालको लागि स्थगन गरेको हो ।
सेयर बिक्रीकार्य रोकिएपछि यो कम्पनीको सेयर खरिदको लागि आवेदन दिएका लगानीकर्ताहरूको रकम अहिले होल्ड भएको छ । ‘घोराही सिमेन्टको आईपीओमा कैफियत देखियो, त्यही कैफियतको अनुसन्धानको लागि धितोपत्र बोर्डले सेयर बिक्रीकार्य स्थगन गरेको हो’, बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले भने, ‘बोर्डको प्रयास जतिसक्दो चाँडो अनुसन्धान प्रक्रिया पूरा गर्ने र लगानीकर्ताहरूको सेयर खरिदको नाममा रोकिएको रकम रिलिज गर्ने हो ।’ अनुसन्धान कहिले पूरा हुन्छ ? भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘कति समय लाग्छ अहिले नै भन्न सक्ने अवस्था छैन, तर ढिलो हुँदैन, जतिसक्दो चाँडो अनुसन्धान प्रक्रिया टुंगोमा पु¥याउँछौँ ।’
सेयर निष्काशनमा देखिएको कैफियतका बारेमा कम्पनीको सेयरको क्रेडिट रेटिङ गरेको कम्पनी ‘केयर रेटिङ नेपाल’सँग पनि स्पष्टीकरण लिइएको प्रवक्ता श्रेष्ठले बताए । ‘धितोपत्र बोर्डको पत्रअनुसार केयर रेटिङले स्पष्टीकरण दियो, तर त्यसबाट सबै कुरा प्रस्ट भएन, हामीले पुनः प्रस्ट पार्न आग्रह गर्दै पत्राचार ग¥यौँ’, उनले भने । केयर रेटिङका कर्मचारीले पनि बोर्डले स्पष्टीकरण सोधेको स्वीकार गरेका छन् । केयर रेटिङ नेपालको कम्प्लायन्स प्रमुखले बोर्डले सोधेको स्पष्टीकरणमा गत मंगलबार नै स्पष्टीकरण जवाफ पठाएको बताएका छन् । स्पष्टीकरण अंग्रेजीमा दिइएको कम्पनीले जनाएको छ । तर, पछि बोर्डले थप प्रस्ट पार्न भनेपछि शुक्रबार नेपाली भाषामा पत्र पठाइएको ती कर्मचारीले बताए ।
संघाई र केयर रेटिङ नेपालको दिल्ली कनेक्सन
घोराही सिमेन्ट इन्डष्ट्रिज नेपाल त्रिवेणी ग्रुपको भगिनी संस्था हो । नेपालको हकमा त्रिवेणी ग्रुप विवादित समूह हो । यो समूहका विरुद्धमा विगतमा विभिन्न किसिमका गैरकानुनी कार्यहरूमा संलग्न भएको भन्दै उजुरबाजुर समेत भएको थियो । विशेषगरी लागुऔषध कारोबारमा यो समूह निकै पहिला जोडिएको भन्ने समाचार सम्प्रेषण भएका थिए । त्यही कारण पनि हुन सक्छ यो कम्पनीको साधारण सेयरप्रति लगानीकर्ताहरूले खासै चासो दिएका छैनन् ।
साधारण सेयर जारी गर्नको लागि बदनियतपूर्ण तरिकाले कम्पनी कागजीरूपमा मात्र नाफामा रहेको देखाउने र आईपीओ जारी गरिसकेपछि कम्पनी घाटामा देखाउने यो व्यापारिक समूहको रणनीति नै थियो । त्रिवेणी ग्रुपको यही व्यापारिक रणनीतिको मतियार बनेर केयर रेटिङ नेपालले त्रिवेणी समूहअन्तर्गतको घोराही सिमेन्टलाई आईपीओ प्रक्रियामा रेटिङ प्रदान गरेको थियो । घोराही सिमेन्टलाई कम्पनीले केयरएनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको थियो । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । तर, कम्पनीले कसरी त्यस्तो रेटिङ पायो ? त्यसको कनेक्सन हेर्ने हो भने दिल्लीसम्म पुग्नुपर्छ ।
केयर रेटिङ नेपाल लिमिटेडको माउ कम्पनी केयर रेटिङ इन्डिया हो । केयर रेटिङ नेपालको सञ्चालकहरूमा मेहुल पाण्डेय, डा. विनोद आत्रेय, नेहुल शाह र भरत प्रसाद रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत अचिन निरवानी रहेका छन् । निरवानी तिनै व्यक्ति हुन् जो लामो समयसम्म केयर रेटिङ इन्डियामा काम गरेका थिए । त्यहाँ काम गर्दा निरवानीको सम्बन्ध त्रिवेणी ग्रुपका सञ्चालक पुरुषोत्तमलाल संघाईसँग भएको थियो । उनीहरूबीचको त्यो सम्बन्ध अहिले पनि कायम छ । त्रिवेणी ग्रुपका अन्य सञ्चालकहरूले नेपालमा नै बसेर कम्पनीको विभिन्न कारोबारहरू हेर्ने गर्छन् ।
तर, पुरुषोत्तमलाल संघाई भारतमा बसेर नेपालको व्यापार हेर्दै आएका छन् । यसअर्थमा घोराही सिमेन्टको आईपीओ प्रकरणमा संघाईले दिल्लीमा नै बसेर केयर रेटिङ इन्डिया समेतको सेटिङमा बदनियतपूर्ण रेटिङ दिएको प्रस्ट हुन्छ । केयर रेटिङको बदमासीलाई टेकेर केयर रेटिङ नेपालले घोराही सिमेन्टको आईपीओमा बदनियतपूर्ण कार्य गरेको दाबी स्रोतको छ । पुरुषोत्तमलाल संघाई र केयर रेटिङ इन्डियाको सेटिङ र केयर रेटिङ नेपाल समेतको मिलेमतोमा घोराही सिमेन्टको आईपीओमा बदमासी भएको हो । जसको बारेमा धितोपत्र बोर्डको अनुसन्धानपश्चात् थप तथ्यहरू बाहिर आउन सक्ने स्रोतको दाबी छ ।