काठमाडौं । पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था नेपाली कांग्रेसले सहज बनाउने तयारी गरेको छ। अब अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए।
कांग्रेसमा दुई प्रकृतिको साधारण र क्रियाशील सदस्यताको व्यवस्था छ ।‘अहिले हामी आन्तरिक तयारी गर्दैछौं। पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बनाउँछौं,’ उनले भने। कांग्रेसले अहिले साधारण सदस्यता अनलाइनबाटै लिन सक्ने व्यवस्था गर्न लागेको पराजुलीले बताए।
महामन्त्री गगन थापाका अनुसार सूचना जारी गरेर अनलाइनबाटै सदस्यता खुला गरिनेछ। पार्टीको संगठन संरचना, सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको उनले बताए।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ४६ हजार ७ सय २९ जना क्रियाशील सदस्य थिए। क्रियाशील सदस्यता नवीकरणका लागि केही जिल्लाका क्षेत्रहरूमा फारमसमेत पठाइसकिएको र क्रियाशील सदस्यता नवीकरण पनि अनलाइनबाटै गर्ने व्यवस्थाका लागि तयारी भइरहेको बताइएको छ ।