काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालले ढकालविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए । उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
अख्तियारले २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म उनी कोषको सदस्य सचिव रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।
ढकाल सदस्य सचिव रहेका वखत ढकालको र परिवारको बैंक खातामाथि अख्तियारले अनुसन्धान गर्दा वैध रुपमा ६ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको पाइएको थियो । उनले ७ करोड ८४ लाख रुपैयाँको सम्पत्ति जोडेको देखिएको भन्दै अख्तियारले उनीमाथि एक करोड ४४ लाख रुपैयाँ विगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।