काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार मंगलबार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्षनेताले मंगलबारको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा सोमबार १० समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० समूहबाट समूहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको सो पार्टीले जनाएको छ ।
जसपाको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा एउटै व्यक्ति दुईपटकभन्दा बढी एउटै पदमा बस्न नपाउने, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको हुनुपर्नेलगायतका प्रावधान राखिएको विधान प्रस्तुत भएको छ । जसपाको प्रस्तावित विधानमा ७० वर्षे उमेरहदको प्रावधान राखिएको छ ।