बैतडी । लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बताएका छन् । बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तक्रियात्मक कार्यक्रममा उहाँले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने दाबी गरे ।
कांग्रेस पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाई तल्लो तहदेखि नै बलियो कांग्रेस बनाउनुपर्नेमा पाण्डेले जोड दिए । उनले भने, “पार्टीभित्र रहेका समस्या, कमी कमजोरी हटाएर सबैले कांग्रेस बलियो बनाउन लाग्नुपर्छ ।”
नेपाली कांग्रेस बैतडीका उपसभापति खगेन्द्रसिंह धामी, पूर्वजिल्ला सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्दलगायतका नेता कार्यकर्ताको अन्तर्क्रियामा सहभागिता रहेको थियो ।