काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तराई मधेशमा राम्रो जनमत हासिल गरेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमाली क्षेत्रमा पनि संगठन विस्तारलाई तिब्रता दिएको छ ।
उक्त पार्टीले देशका ७७ वटै जिल्लामा संगठन विस्तारका लागि सार्वजनिक रुपमै आह्वान गरेको छ । जनमत पार्टीले तराई मधेशका २३ वटा जिल्लामा संगठन विस्तार गरिसकेको छ र बाँकी ५४ जिल्लामा नेतृत्वको खोजी गरिरहेको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै जनमत पार्टीको वेबसाइटबाट फारम भर्न वा पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् । हाल प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी मधेश प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी रहेको छ ।
पार्टीका नेता बीपी साहका अनुसार जनमत पार्टीले आगामी निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिने योजना बनाएकाले अहिले संगठन विस्तार सुरु गरिएको हो । पार्टीमा आवद्ध भएर काम गर्न चाहनेहरुका लागि अनलाइनमार्फत खुल्ला आह्वान गरेको नेता साहले जानकारी दिएका छन् ।