काठमाडौं । दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय किसान विरोधी भएको भन्दै सांसद महेश बस्नेतले निर्णय फिर्ता लिन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसद बस्नेतले बोर्ड खारेजको निर्णयले दूध आयातलाई प्रोत्साहन र नेपाली दुग्ध उद्योगलाई निरुत्साहित गर्ने काम भएको बताए ।
उनले भने, “३० लाख दुग्ध किसान, छ सय दुग्ध उद्योग, एक हजार आठ सय सहकारी र दैनिक एक करोड उपभोक्ताको बिचमा सेवा दिइरहेको दुग्ध विकास बोर्डलाई खारेज गर्नुपर्ने आवश्यकता किन रह्यो ? यो किसान विरोधी निर्णय हो, राष्ट्रको अहितमा छ । यो प्रस्ताव सरकारले फिर्ता लिनुपर्छ ।”
बाँकेको कपास विकास समिति खारेजको प्रस्तावसमेत फिर्ता लिन सांसद बस्नेतले माग राखे । यस्तै सांसद प्रतिमा गौतमले विशेष समयमा बोल्दै पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर मन्दिरको मौलिकस्वरुप कायम गर्न माग राखिन् । मन्दिरमा अनावश्यक रुपमा सुनको जलहरि राखिएको र जलहरिसम्बन्धी विवादले हिन्दू धर्मावलम्बीको भावनामा चोट पुगेको उनको भनाइ थियो ।
“सबै सुन राज्यकोषमा दाखिला गरेर पशुपतिनाथको मौलिकस्वरुप देखिने गरी पुरानै अवस्थामा राखियोस् ।” सांसद गौतमले भनिन् । उक्त जलहरिमा १३ जनाको नाम कुदेँको/लेखेको भन्दै उनले आपत्ति जनाइन् ।