मकवानपुर । सरकारले बजेटमा सांसदहरूलाई नै विभेद गरेको, असन्तुलित बजेट ल्याएको भन्दै बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल एमालेले प्रदेशसभा बैठकमा बजेटप्रति असन्तुष्टि राख्दै अवरोध गर्ने भएको छ ।
मंगलबार १ बजेको बैठकमा सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची बैठकमा प्रवेश गरे लगत्तै एमालेका सांसदहरूले आसनबाट उठेर विरोध गर्ने एमालेका सांसद प्रकाश श्रेष्ठले जानकारी दिए ।
प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 'बजेट समावेशी र सन्तुलित हुन सकेन । भूगोल, नागरिक अनुकूल बजेट आएको छैन ।' ४ जना मन्त्रीको क्षेत्रमा मात्र बजेट केन्द्रित भयो आदि विषयलाई लिएर एमालेले अन्य विपक्षी दलहरूसँग छलफल गरिरहेको उनले बताए ।