विश्वका धनाढ्यमध्येका एक चिनियाँ अर्बपति अलिबाबा ग्रुपका संस्थापक ज्याक मा मंगलबार काठमाडौं आइपुगेका छन् । उनी मंगलबार दिउँसो साढे दुई बजे चार्टर्ड विमान बोइङ ७३७ म्याक्स चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनी चीनबाट बंगलादेश हुँदै काठमाडौं आएका हुन् ।
ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने बताइएको छ । उनी व्यापारिक घुमघामका लागि नेपाल आएको बताइए पनि उनको भ्रमणको मुख्य उद्देश्यबारे केही सार्वजनिक गरिएकोे छैन । उनी बिहीबार काठमाडौंबाट पाकिस्तान जाने तालिका रहेको बताइएको छ ।
ज्याक माको वास्तविक नाम ‘मा यून’ हो । उनी चीनका पाँचौँ धनी व्यक्ति हुन् भने विश्वका धनाढ्यको सूचीमा ६३औँ स्थानमा छन् । सन् १९६४ मा चीनको ह्वाङझाउमा जन्मिएका ज्याक माको कुल नेटवर्थ २३ दशमलव सात बिलियन अमेरिकी डलर छ ।सुरुमा शिक्षण पेसामा आबद्ध ज्याक माले सन् १९९९ मा अलिबाबा ग्रुप स्थापना गरेका थिए । १८ जना साथीबाट जम्मा गरेको ६० हजार डलरबाट स्थापना भएको अलिबाबाको अहिले कुल नेटवर्थ तीन सय १८ बिलियन अमेरिकी डलर छ ।
अलिबाबा स्थापना गर्नुअघि ज्याक मा विभिन्न कम्पनीमा जागिरको लागि धाएका थिए । तर उनी सबैमा अस्वीकृत भए । रोचक घट्ना के छ भने जब उनी चीनमा खुल्न लागेको अमेरिकाको एक फास्टफुड रेस्टुराँमा कामदार मागेपछि अन्तवार्ताका लागि गए । अन्तरवार्तामा सहभागी भएका २४ जनामध्ये २३ जना छनौट भए भने ज्याक मा एक्लै फालिएका थिए । तर पनि हार नखाएका ज्याक माले अंग्रेजी शिक्षकमा रुपमा विद्यालयमा पढाउन सुरु गरे ।
पछि शिक्षक पेसा छोडेर आफ्ना साथीहरुबाट ६० हजार डलर जुटाई इन्टरनेट प्लाटफर्म सुरु गरेका थिए । ज्याक माले अलिबाबा अनलाइन प्लेटफर्म सुरु गर्दा चीनमा इन्टरनेटको पहुँच एक प्रतिशत मात्रै थियो । अलिबाबा सुरु गरेपछि तीन÷चार वर्षसम्म ठगको रुपमा चित्रण गरिएका उनी अहिले चीनमा जीवन सजिलो बनाउने व्यक्तिका रुपमा चिनिन्छन् । अलिबाबाको सफलतापछि ज्याक मा चीनमा ‘मिस्टर इन्टरनेट’को नामबाट पनि प्रसिद्ध छन् ।
अलिबाबाका संस्थापक ज्याक माले सन् २०१९मा कम्पनीको सीईओ पदबाट राजीनामा दिएपछि अहिले डेनियल झाङ सीईओ छन् ।सन् २०२० मा ज्याक माले चिनियाँ सरकारको आलोचना गरेपछि एकाएक सार्वजनिक जीवनबाट हराएका थिए । उनले चिनियाँ सरकारले सुरु गरेको प्रविधि क्षेत्रमाथिको नियमनको प्रयासको आलोचना गरेका थिए । त्यसपछि उनी सार्वजनिक जीवनबाट रहस्यमय तरिकाले हराएका थिए । सरकारको विरोध गरेका कारण उनलाई चीन सरकारले नजरबन्दमा राखेको चर्चा समेत चलेको थियो । यहीबीचमा चीन सरकारले उनको कम्पनीलाई आईपीओ निष्काशन गर्न रोकेको थियो । तर नजरबन्दमा राखिएको हल्लाकै बीच गत मार्चमा उनी जापानमा देखिएका थिए ।