शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्र्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं ३ घर भएका शर्मालाई सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ बाट पक्राउ गरेको बताएका छन् ।
शर्मा उपकार ब्रान्डका सञ्चालक पनि हुन् । उनी तीन दर्जनभन्दा बढी व्यावसायिक कम्पनीमा आबद्ध छन् । शिव शिखर सहकारीको केन्द्रीय कार्यालय भक्तपुरको कौशलटारमा छ भने देशभर ३५ जिल्लामा शाखा विस्तार गरेको छ । सबै शाखाबाट कुल एक लाख ६८ हजार सात सय २५ जना निक्षेपकर्ताबाट निक्षेप संकलन गरेको देखिएको सीआईबीले जनाएकोे छ । सबै निक्षेपकर्ता सदस्यहरूले मुद्दती खाता खोली जम्मा गरेको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार पाँच सय ८६ रुपैयाँ र तुलसी बहुमुखी सहकारी संस्था विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीको झापा, सुनसरी र उदयपुरमा रहेका शाखाबाट २१ हजार एक सय ५४ जना सदस्यहरूले जम्मा गरेको कुल एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार नौ सय १२ रुपैयाँ शर्माले अनियमितता गरेको देखिएको छ ।
शर्माले सहकारीमा संकलित पैसा सहकारी ऐन र नियमावलीविपरीत आफू र आफ्ना नजिकका व्यक्तिहरूको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीहरूमा ऋण लगानी गराई साँवा र ब्याज समेत सहकारी संस्थामा फिर्ता नगराएको देखिएको प्र्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिहरूको नाममा जग्गाजमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरूपयोग गरी सहकारी संस्थालाई हानी नोक्सानी पु¥याउने कार्यमा संलग्न शर्मालाई पक्राउ गरी थप अनुसन्धान सुुरु गरिएको प्रवक्ता अधिकारीले बताए ।
शर्माले सहकारीबाट मात्र नभई बैंकबाट समेत उल्लेख्यरूपमा कारोबार गरेको देखिएको छ । सहकारी र बैंकबाट गरी शर्माले करिब २२ अर्ब रुपैयाँबराबरको रकम लिएकोे देखिएकोे छ ।सीआईबीले वैशाख २७ गते शिव शिखर बहुउद्देश्यीय सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ललाई पक्राउ गरेको थियो । सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर फाइल अदालतमा बुझाएको थियो । त्यसपछि अदालतले पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाएको छ । उनीहरूसँग एक अर्ब ७१ करोड बिगो मागदाबी गरिएको छ ।