काठमाडौं, नेपालमा अवैध रुपमा भित्र्याइएको दुई करोड रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार सशस्त्र प्रहरीले करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश दत्त पाण्डे र बोर्डर आउट पोस्ट खैरवनीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको टोलीले भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मूल्यको १ हजार २ सय थान एयर वर्डस बरामद गरेको हो ।
उक्त एयर वर्डस ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए । बरामद एयर वर्डस आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।