काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको रोमाञ्चक लन्डन डर्बीमा आर्सनलले चेल्सीमाथि २–१ को शानदार जित निकालेको छ।घरेलु मैदानमा सुरुआतमै गोल बेहोरे पनि आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।
खेलको दोस्रो मिनेटमै मोर्गन रोजर्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। तर आर्सनलले खेलमा दबाब बढाउँदै पुनरागमन गर्यो।आर्सनलका काई हाभर्ट्जले आफ्नो पूर्वक्लबविरुद्ध २५औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। पहिलो हाफमा दुवै टोलीले थप गोलका अवसर सिर्जना गरे पनि बराबरीमै सकियो।
दोस्रो हाफको सुरुआतमै आर्सनलले निर्णायक प्रहार गर्यो। हाभर्ट्जको उत्कृष्ट डमीपछि कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए।त्यसपछि चेल्सीले बराबरी गोलका लागि लगातार प्रयास गरे पनि आर्सनलको रक्षापंक्तिले अग्रता जोगाउन सफल भयो। घरेलु टोलीले अन्ततः २–१ को जित निकाल्दै लन्डन डर्बी आफ्नो पक्षमा पार्यो। यस जितसँगै आर्सनलले प्रिमियर लिगमा लगातार तेस्रो जित निकाल्दै आफ्नो उत्कृष्ट सुरुआतलाई निरन्तरता दिएको छ भने चेल्सीले सिजनको पहिलो हार बेहोरेको छ।