काठमाडौं, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ लाख ३९ हजार ७ सय ५२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको हो ।
कुल सहयोग रकममध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो तर्फबाट ३० लाख रुपैयाँ उपलब्ध गराएको छ भने संस्थाका कर्मचारीहरूबाट संकलित ११ लाख ३९ हजार ७ सय ५२ रुपैयाँसमेत गरी जम्मा ४१ लाख ३९ हजार सात सय ५२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ । प्राकृतिक विपत्तिका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले बाढी तथा विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरू सकुशल फेला पर्ने विश्वास व्यक्त गर्दै संस्थाले विपद्को कठिन परिस्थितिमा प्रभावित परिवार तथा नागरिकलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेको छ ।
संस्थाले विपत्तिको समयमा सरकार, निजी क्षेत्र, वित्तीय संस्था, कर्मचारी तथा आम नागरिक सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ । राहत तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन एकअर्काको साथ र सहयोग आवश्यक रहेको भन्दै संस्थाले सबैलाई मिलेर अघि बढ्न आग्रह गरेको छ ।
छिमेक लघुवित्तले आफू प्रभावित नागरिक, आफ्ना सदस्यवर्ग तथा कर्मचारी र उनीहरूका परिवारको साथमा रहेकोसमेत जनाएको छ । विपद्को यस कठिन घडीमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराउँदै छिमेक लघुवित्तले राहत तथा उद्धार अभियानमा आफ्नो योगदान गरेको हो ।