उठ्दैनन् किन सूर्य चन्द्र कहिले हामी उज्याला भनी
गर्दैनन् तरुले घमण्ड फलको छाया दिँदा त्यो पनि ।
पुग्छन् सागरमा सधैँ नदनदी बोल्दै नबोली कतै
मान्छे मात्र रहेछ मूर्ख झगडा गर्ने यहाँ सर्वतै ।।
कवि छवि वैरागी घिमिरेको यो श्लोक पढ्दा मन एकाएक यात्रामा निस्कन्छ । बाहिरको यात्रामा होइन मात्र नभै भित्रको यात्रामा पनि । सूर्यतिर, चन्द्रतिर, नदीतिर, वनतिर । अनि अन्ततः मानिसतिर । प्रकृतिको विशाल विद्यालयमा मानिस एउटा विद्यार्थी हो । तर विचित्र के छ भने, सबैभन्दा धेरै पढेको मानिसले नै प्रकृतिबाट सबैभन्दा कम सिकेको छ । सूर्य हरेक दिन उदाउँछ । चन्द्र हरेक रात चम्कन्छ । नदी निरन्तर बग्छ । वृक्ष चुपचाप फल्छ । तर मानिस? मानिसले दिएकोमा पनि घमण्ड गर्छ । नदिएकोमा पनि गुनासो गर्छ । पाएकोमा पनि सन्तुष्ट हुँदैन । नपाएकोमा पनि शान्त हुँदैन ।
एक बिहान म यात्रामा निस्किएँ । गन्तव्य निश्चित थिएन । मनमा एउटा प्रश्न मात्र थियो—प्रकृति यति शान्त छ, मानिस किन यति अशान्त छ? सडक लामो थियो । आकाश खुला थियो । बिहानको सूर्य पूर्वी क्षितिजबाट बिस्तारै उठ्दै थियो । उसले कसैलाई आफ्नो उज्यालोको हिसाब मागेन । कसैलाई भनेन हेर, म तिमीहरूलाई प्रकाश दिँदैछु । ऊ चुपचाप उदायो । चुपचाप फैलियो । चुपचाप संसार उज्यालो बनायो । त्यहीँ मैले सोचें, साँचो महानता घोषणा गर्दैन । साँचो प्रकाशले आफ्नो नाम लेख्दैन ।
सूर्यसँग मानिसको ठूलो भिन्नता यही हो । मानिसले एउटा सानो काम गरेर संसारलाई सुनाउन चाहन्छ । एउटा दान गरेर तस्बिर खिच्न चाहन्छ । एउटा उपलब्धि पाएर घमण्डको घर बनाउन चाहन्छ । सूर्यले भने अनन्त कालदेखि उज्यालो दिइरहेको छ । तर उसले कहिल्यै आफ्नो प्रशंसाको माग गरेको छैन । शायद सेवाको सबैभन्दा सुन्दर रूप त्यही हो, जहाँ दिने हातलाई आफ्नो दानको सम्झना पनि हुँदैन । जहाँ कर्म हुन्छ । तर अहंकार हुँदैन । जहाँ प्रकाश हुन्छ । तर प्रदर्शन हुँदैन ।
यात्रा अघि बढ्यो । बाटोको एउटा मोडमा चन्द्रमा अझै आकाशमा झुण्डिरहेको थियो । सूर्य आउँदै थियो । चन्द्रमा जाँदै थियो । दुवैबीच कुनै झगडा थिएन । कुनै प्रतिस्पर्धा थिएन । सूर्यले चन्द्रलाई हटाउन खोजेको थिएन । चन्द्रले सूर्यको बाटो रोक्न खोजेको थिएन । समयको आफ्नै नियम थियो । दिनको आफ्नै पालो । रातको आफ्नै पालो । मैले आकाशतिर हेरेँ । अनि मनमनै भनेँ—मानिसले प्रकृतिबाट यति मात्र सिके पनि संसार कति सुन्दर हुन्थ्यो! सबैलाई आफ्नो समय आउँछ । सबैलाई आफ्नो स्थान चाहिन्छ । अरूको उज्यालो देखेर आफ्नो दीप निभाउनुपर्दैन ।
मानिस किन यति धेरै तुलना गर्छ? त्यो प्रश्नले यात्राभर पछ्याइरह्यो । फलानो मभन्दा अगाडि गयो । फलानो मभन्दा धनी भयो । फलानो मभन्दा चर्चित भयो । फलानोको घर ठूलो भयो । फलानोको जीवन राम्रो भयो । तुलना एउटा यस्तो आगो हो, जसले अरूको उज्यालोभन्दा पहिले आफ्नै मन जलाउँछ । सूर्य सूर्य हो । चन्द्र चन्द्र हो । दुवैको काम फरक छ । तर दुवै आवश्यक छन् । मानिसले पनि आफ्नो स्वभाव पहिचान गर्नुपर्छ । आफू अरूजस्तो हुन खोज्दा मानिस आफ्नै अस्तित्वबाट टाढा जान्छ ।
अगाडि एउटा वन आयो । हरिया रूखहरू बाटोको दुवैतिर उभिएका थिए । केही अग्ला । केही होचा । केही बूढा । केही नयाँ । तर सबैको आकाश एउटै थियो । हावा एउटै थियो । माटो एउटै थियो । एउटा वृक्षमा फल लागेको थियो । अर्कोले यात्रुलाई छाया दिइरहेको थियो । अर्कोमा चराहरूले गुँड बनाएका थिए । तर कुनै रूखले आफ्नो उपयोगिताको घोषणा गरेको थिएन । रूखहरू मौन थिए । तर उनीहरूको मौनता उदार थियो ।
रूखले कहिल्यै भन्दैन—हेर, मैले तिमीलाई छाया दिएँ । हेर, मैले तिमीलाई फल दिएँ । हेर, मैले तिमीलाई अक्सिजन दिएँ । ऊ केवल दिन्छ । पात दिन्छ । फूल दिन्छ । फल दिन्छ । छाया दिन्छ । अन्ततः आफ्नो काठ पनि दिन्छ । यस्तो निःस्वार्थ प्राणीको अगाडि मानिसको स्वार्थ कति सानो देखिन्छ! मानिसले एउटा सानो सहयोग गरेर जीवनभर ऋण सम्झाउन खोज्छ । रूखले जीवनभर दिएर पनि केही माग्दैन । शायद प्रेमको सर्वोच्च रूप अधिकार होइन । समर्पण हो ।
म एउटा ठूलो पीपलको रूखमुनि केही बेर बसेँ । हावाले पातहरू हल्लाइरहेको थियो । सूर्यका किरणहरू पातको बीचबाट छिरेर जमिनमा नाचिरहेका थिए । त्यो दृश्य कति मधुर थियो! मैले आँखा बन्द गरेँ । लाग्यो, जीवन पनि यस्तै हुनुपर्छ । जरा माटोसँग जोडिएको । शाखा आकाशतिर फैलिएको । फल अरूका लागि । छाया यात्रुका लागि । र अस्तित्व आफ्नो स्थानमा विनम्र । मानिसले जति माथि पुग्छ, उति झुक्न सिक्नुपर्छ । फल लागेको हाँगा झुक्छ । खाली हाँगा मात्र सिधा उभिएर घमण्ड गर्छ ।
यात्रा फेरि नदीतिर मोडियो । नदी टाढैबाट सुनिन्थी । उसको आवाजमा संगीत थियो । तर शब्द थिएनन् । ऊ बोल्दिनथी । तर धेरै कुरा भन्थी । नदी पहाडबाट जन्मिन्छे । ढुङ्गामा ठोक्किन्छे । भीरबाट झर्छे । साँघुरो बाटो पार गर्छे । अनेकौँ अवरोध सहन्छे । तर बग्न छोड्दिन । अन्ततः सागरमा पुग्छे । न नदीले आफ्नो यात्राको कथा सुनाउँछे । न सागरले आफ्नो विशालताको घमण्ड गर्छ । दुवै मौन छन् ।
नदीलाई हेर्दा जीवन बुझ्न सजिलो लाग्यो । मानिसले अवरोधलाई अन्त्य ठान्छ । नदीले अवरोधलाई मोड ठान्छे । ढुङ्गा आयो भने ऊ रोकिन्न । बाटो बदल्छे । पहाड आयो भने काट्छे । भीर आयो भने झर्छे । तर आफ्नो यात्रालाई छोड्दिन । जीवनमा पनि यही नियम छ । बाटो बन्द भए यात्रा बन्द हुँदैन । दिशा बदल्नुपर्छ । कहिलेकाहीँ ढिलो हिँड्नुपर्छ । कहिलेकाहीँ मौन हुनुपर्छ । तर बग्न छोड्नु हुँदैन ।
नदी किन यति शान्त भएर सागरमा पुग्छे? मैले आफैँलाई सोधेँ । शायद उसलाई थाहा छ—गन्तव्यमा पुग्न धेरै बोल्नु पर्दैन । धेरै प्रमाणित गर्नु पर्दैन । यात्रा आफैँ प्रमाण हो । आजको संसारमा मानिस सबैभन्दा धेरै बोल्छ । आफ्नो महानता बोल्छ । आफ्नो धर्म बोल्छ । आफ्नो जात बोल्छ । आफ्नो राजनीति बोल्छ । आफ्नो सत्य बोल्छ । तर बोल्दै बोल्दै सुन्न बिर्सन्छ । नदी बोल्दिन । तर संसारले उसको आवाज सुन्छ ।
त्यहीँ मलाई मानिसको झगडा सम्झना आयो । मानिस नामका लागि झगडा गर्छ । धर्मका लागि झगडा गर्छ । जातका लागि झगडा गर्छ । भाषाका लागि झगडा गर्छ । भूमिका लागि झगडा गर्छ । विचारका लागि झगडा गर्छ । अन्ततः उसले बिर्सन्छ—सबै मानिस एउटै पृथ्वीमा हिँडिरहेका छन् । सबैको शरीर माटोमै फर्किन्छ । सबैको सास हावामा मिसिन्छ । सबैको अन्तिम मौनता उस्तै हुन्छ । मृत्युले पनि मानिसलाई बराबर बनाउन सक्छ भने जीवनले किन सक्दैन?
म यात्राको एकान्तमा अझ गहिरो हुँदै गएँ । मन्दिरको घण्टी टाढाबाट सुनियो । म त्यतातिर लागेँ । मन्दिर ठूलो थिएन । भव्य पनि थिएन । तर त्यहाँ एउटा अद्भुत शान्ति थियो । धूपको सुगन्ध । घण्टीको मधुर ध्वनि । मानिसहरूका झुकेका शिर । कसैले धन मागिरहेको थियो । कसैले स्वास्थ्य । कसैले सफलता । कसैले सन्तान । म केही बेर चुपचाप उभिएँ । अनि अचानक लाग्यो—ईश्वरलाई हामीले धेरै मागेका छौँ । शायद अब केही दिन सिक्नुपर्छ ।
ईश्वरलाई सूर्यले के सिकाउँछ? निःस्वार्थ प्रकाश । वृक्षले के सिकाउँछ? निःशब्द दान । नदीले के सिकाउँछ? निरन्तर यात्रा । चन्द्रले के सिकाउँछ? परिवर्तनलाई स्वीकार गर्नु । अनि पृथ्वीले? सबैलाई धान्नु । सायद धर्मको सार मन्दिरको ढोकाभित्र मात्र छैन । प्रकृतिको प्रत्येक कणमा छ । मानिसले पूजा धेरै गर्यो । तर करुणा कम सिक्यो । मन्त्र धेरै पढ्यो । तर मनको हिंसा कम गर्न सकेन । देवताको नाम धेरै लियो । तर देवत्वको गुण कम अपनायो ।
मन्दिरबाट बाहिर निस्कँदा साँझ पर्न थालेको थियो । आकाशको रङ फेरिँदै थियो । सूर्य बिस्तारै अस्ताउँदै थियो । बिहान उसले संसारलाई उज्यालो दिएको थियो । साँझ ऊ केही नभनी बिदा हुँदै थियो । न कुनै विदाइ समारोह । न कुनै प्रशंसाको अपेक्षा । फेरि भोलि आउँछु भनेर घोषणा पनि होइन । कस्तो अद्भुत अनुशासन! कस्तो सरल जीवन! काम गर । आफ्नो समय पूरा गर । अनि शान्त भएर बिदा होऊ । मानिसले जीवनभर नाम बचाउन खोज्छ । सूर्यले हरेक दिन अस्ताएर पनि आफ्नो अस्तित्व गुमाउँदैन ।
साँझको त्यो यात्रामा मलाई एउटा सत्य महसुस भयो । मानिसले संसार जित्न खोज्छ । तर आफ्नो मन हारिरहेको हुन्छ । मानिस अरूलाई सुधार्न खोज्छ । तर आफ्नै क्रोधलाई चिन्न सक्दैन । मानिस शान्तिको भाषण गर्छ । तर घरभित्र झगडा गर्छ । मानिस ईश्वर खोज्छ । तर मानिसलाई घृणा गर्छ । आध्यात्मिकता भनेको संसार छोडेर जंगल जानु मात्र होइन । आध्यात्मिकता भनेको आफ्नो मनभित्रको हिंसालाई प्रेममा बदल्नु हो । आफ्नो घमण्डलाई विनम्रतामा बदल्नु हो । आफ्नो स्वार्थलाई सेवामा बदल्नु हो ।
रात पर्दै थियो । म फर्कने बाटोमा थिएँ । आकाशमा चन्द्रमा देखिन थालेको थियो । बिहान सूर्यलाई देखेको थिएँ । अब चन्द्रलाई देख्दै थिएँ । दुवैको यात्राबीच म थिएँ । एउटा साधारण मानिस । धेरै प्रश्न बोकेको । थोरै उत्तर पाएको । तर मन केही हलुका भएको । यात्राले मलाई संसारको नयाँ दृश्य मात्र देखाएन । उसले मेरो भित्रको पुरानो धुलो पनि देखायो । अहंकारको धुलो । रिसको धुलो । तुलना र प्रतिस्पर्धाको धुलो ।
मैले बुझें । सूर्य उज्यालो दिएर घमण्ड गर्दैन । चन्द्र शीतलता दिएर घोषणा गर्दैन । वृक्ष फल दिएर हिसाब राख्दैन । नदी सागरमा पुगेर आफ्नो यात्राको विज्ञापन गर्दैन । प्रकृतिका सबै महान प्राणीहरू मौन छन् । केवल मानिसले आफूलाई सबैभन्दा बुद्धिमान ठानेर सबैभन्दा धेरै झगडा गरिरहेको छ । यही मानिसको विडम्बना हो । यही हाम्रो सबैभन्दा ठूलो आध्यात्मिक प्रश्न पनि हो ।
त्यस रात म घर फर्किएँ । तर यात्रा सकिएन । यात्रा मनभित्र चलिरह्यो । अब हरेक बिहान सूर्यलाई हेर्दा म विनम्रता सम्झन्छु । चन्द्रलाई हेर्दा परिवर्तन सम्झन्छु । रूखलाई हेर्दा दान सम्झन्छु । नदीलाई हेर्दा निरन्तरता सम्झन्छु । अनि मानिसलाई हेर्दा करुणाको आवश्यकता सम्झन्छु । शायद संसार बदल्ने ठूलो दर्शन यही हो—थोरै बोलौँ । धेरै सुनौँ । थोरै मागौँ । धेरै बाँडौँ। कम झगडा
गरौँ। धेरै प्रेम गरौँ । अनि प्रकृतिजस्तै आफ्नो यात्रामा चुपचाप उज्यालो बनिरहौँ ।