काठमाडौं । प्रधानमन्त्री बालेन साहले रसुवाको भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार तथा खोजी कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको साहस र योगदानको उच्च प्रशंसा गरेका छन्।प्रधानमन्त्री साहले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीका बेला नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा खटिएका सुरक्षाकर्मीले देखाएको साहसको उदाहरण प्रस्तुत गरेका छन्।
बाढी आउनुअघि कारागारमा ९२३ जना कैदीबन्दी रहेका थिए। भदौ १० गते भोटेकोशीमा आएको बाढीले कारागार आसपासका संरचनामा क्षति पुर्याउँदै गएपछि कारागार सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीले सबै कैदीबन्दीलाई जोखिमबाट जोगाउन तत्काल माथिल्लो भवनमा सारेका थिए।बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा पोस्ट र पर्खालमा क्षति पुर्याउँदै कैदीबन्दी राखिएको भवनको पहिलो तलासम्म लेदो र पानी पसेको अवस्थामा समेत सुरक्षाकर्मीले उद्धार कार्यलाई निरन्तरता दिएका थिए।
बाढीको मौका छोपेर पर्खाल र गेट तोडेर करिब १०० मिटरसम्म भागेका ५० जना कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएका थिए। सो क्रममा कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भएका थिए। उनीहरूले आसपासका स्थानीयको सुरक्षामा समेत भूमिका खेलेका थिए।प्रधानमन्त्री साहका अनुसार अहिले पनि कारागारका ब्यारेक र कार्यालय लेदोमा पुरिएका छन् भने पहुँचमार्ग र खानेपानीको व्यवस्था प्रभावित छ। यस्तो कठिन अवस्थामा सुरक्षाकर्मी आफैँ टाढाबाट पानी बोकेर कैदीबन्दीलाई खुवाउने, बाटो खुलाउने र नियमित ड्युटीमा खटिरहेका छन्।
१३ हजारभन्दा बढीको उद्धार
प्रधानमन्त्री साहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको जानकारी दिएका छन्।स्थलमार्ग र हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै कतिपय स्थानमा सुरक्षाकर्मीले घाइतेलाई आफ्नै काँधमा बोकेर अस्पताल पुर्याएका छन्। शव व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी तथा संक्रामक रोग फैलिन नदिन आवश्यक काम र राहत शिविरमा रहेका नागरिकको मनोबल बढाउने कार्यमा समेत सुरक्षाकर्मी निरन्तर खटिरहेका छन्।
कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद सुरक्षाकर्मी बाढीले थुपारेको दलदल तथा भग्नावशेषमा बेपत्ताको खोजी र उद्धारमा सक्रिय रहेको प्रधानमन्त्री साहले उल्लेख गरेका छन्।
आफ्नै सहकर्मी गुमाउँदाको पीडाबीच उद्धारमा निरन्तर
प्रधानमन्त्री साहले बाढीमा सुरक्षाकर्मीहरूले आफ्नै सहकर्मीसमेत गुमाएको पीडाबीच उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको बताएका छन्।उनका अनुसार बाढीका कारण नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।
आफ्ना साथीहरू सम्पर्कविहीन हुँदाको पीडाबीच पनि सुरक्षाकर्मीले खोज तथा उद्धार, शव व्यवस्थापन, होल्डिङ सेन्टरको सुरक्षा तथा सम्भावित थप बाढीको जोखिमबारे नागरिकलाई सचेत गराउने काम गरिरहेका छन्।
तीनवटै सुरक्षा निकायको व्यापक परिचालन
नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ स्थापना गरी उद्धार कार्य सञ्चालन गरिरहेको छ।त्यस्तै, रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालनमा छन्। विद्युत् आयोजनाका सुरुङमा समेत खोज तथा उद्धार कार्य भइरहेको छ।
सेनाका अनुसार प्रभावित क्षेत्रमा ९ हजार २८७ जना सैनिक परिचालन भएका छन्।नेपाल प्रहरीले सुरुआतदेखि नै खोज, उद्धार, राहत वितरण, घाइतेको उद्धार तथा शव व्यवस्थापनमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेको छ। तालिमप्राप्त कुकुरको प्रयोगबाट समेत खोजी कार्य भइरहेको छ। प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै नागरिकलाई निरन्तर सूचना प्रवाह गर्ने काममा पनि प्रहरी सक्रिय छ। हाल ७ हजार ९७५ जना प्रहरी प्रभावित क्षेत्रमा खटिएका छन्।
सशस्त्र प्रहरी बलले विशेष तालिमप्राप्त गोताखोर, डोरी टोली, ड्रोन स्क्वाड तथा केनाइन टोली परिचालन गरी जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ। प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट र १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको छ। हाल ४ हजार २०३ जना सशस्त्र प्रहरी प्रभावित क्षेत्रमा परिचालित छन्।
प्रधानमन्त्री साहले सुरक्षाकर्मीहरूको त्याग, निष्ठा र अदम्य साहसका कारण संकटको समयमा लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको बताएका छन्।उनले कार्यक्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर हुने र उनीहरूको सेवा, सुरक्षा तथा सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संकटका बेला सुरक्षाकर्मीलाई कर्तव्यमा खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति समेत प्रधानमन्त्री साहले आभार व्यक्त गरेका छन्। साथै, विपद् व्यवस्थापनमा सुरक्षाकर्मीसँगै खटिएका स्वदेश तथा विदेशका विज्ञहरूलाई पनि उनले धन्यवाद दिएका छन्। ‘राष्ट्रसेवक सुरक्षाकर्मीहरू, तपाईंहरूप्रति हामी सधैँ कृतज्ञ रहनेछौँ,’ प्रधानमन्त्री साहले भनेका छन्।