काठमाडौं, भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि महालक्ष्मी विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकका अनुसार यही भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा अकल्पनीय क्षति
पुगेपछि प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको हो ।
कुल ५१ लाख रुपैयाँ सहयोगमध्ये बैंकको संस्थागत तर्फबाट उपलब्ध रकमसँगै बैंकमा कार्यरत कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिकसमेत समावेश गरिएको छ । बैंकले विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सरकारको उद्धार कोषमा रकम जम्मा गरेको जनाएको छ । बैंकले बाढी तथा प्राकृतिक विपत्तिमा जीवन गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपत्तिको यस कठिन समयमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै महालक्ष्मी विकास बैंकले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय तथा सरोकारवालाबाट भइरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ । बैंकले प्राकृतिक विपत्तिका बेला सरकार, निजी क्षेत्र, वित्तीय संस्था, कर्मचारी तथा आम नागरिकबीचको सहकार्य र सहयोगले प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा थप टेवा पुग्ने विश्वास समेत व्यक्त गरेको छ ।