साक्षरता भन्नासाथ सामान्यतः पढ्न, लेख्न र सामान्य हिसाब गर्न सक्ने क्षमतालाई सम्झिन्छौँ । तर समय बदलिएको छ र साक्षरताको अर्थ पनि बदलिँदै गएको छ । आजको डिजिटल तथा ज्ञानमा आधारित समाजमा अक्षर चिन्ने क्षमता मात्र पर्याप्त छैन । सूचना बुझ्ने, सही सूचना र गलत सूचना छुट्याउने, प्रविधिको सुरक्षित र सिर्जनात्मक प्रयोग गर्ने, वातावरण संरक्षण गर्ने तथा आफ्नो जीवन र समाजका लागि सही निर्णय गर्न सक्नेक्षमता पनि आधुनिक साक्षरताका महत्वपूर्ण पक्ष हुन् ।
यसै सन्दर्भमा सन् २०२६ को अन्तर्राष्ट्रिय साक्षरता दिवसको विषय ‘मानव, पृथ्वी र समृद्धिका लागि साक्षरता’ राखिएको छ । युनेस्कोले साक्षरतालाई मानव अधिकारका साथै शान्ति, समानता र दिगो विकासको आधारका रूपमा लिएको छ । यो विषयले साक्षरताको परम्परागत सीमाभन्दा माथि उठेर मानिस, प्रकृति र समृद्धिबीचको सम्बन्धलाई उजागर गरेको छ ।
मानव विकासको आधार
मानव विकासो महत्वपूर्ण आधार शिक्षा र साक्षरता हो । साक्षर व्यक्तिले आफ्ना अधिकार र कर्तव्य बुझ्न, उपलब्ध अवसरको सदुपयोग गर्न र दैनिक जीवनमा आवश्यक निर्णय लिन सक्छ । स्वास्थ्य, पोषण, सरसफाइ, नागरिक अधिकार, वित्तीय कारोबार तथा सामाजिक सम्बन्धका विषयमा सही सूचना बुझेर व्यवहारमा उतार्न साक्षरताले सहयोग पुर्याउँछ । साक्षरताले व्यक्तिमा आत्मविश्वास र आत्मनिर्भरता बढाउँछ । विशेषगरी महिला, गरिब, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा अवसरबाट वञ्चित समूहलाई गुणस्तरीय साक्षरताको अवसर दिनु सामाजिक न्याय र समावेशी विकासको आधार हो ।
नेपालमा पनि साक्षरताको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ५ वर्ष वा सोभन्दा माथिको जनसंख्याको साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ । पुरुषको साक्षरता ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत रहेको तथ्यांकले अझै पनि लैङ्गिक अन्तर हटाउनुपर्ने आवश्यकता देखाउँछ । त्यसैले अबको प्राथमिकता केवल साक्षर व्यक्तिको संख्या बढाउनु मात्र नभई साक्षरताको गुणस्तर र जीवनोपयोगिता बढाउनु हुनुपर्छ ।
पृथ्वी संरक्षणका लागि साक्षरता
मानव जातिले अहिले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण, वन विनाश, पानीको अभाव र जैविक विविधताको ह्रासजस्ता चुनौती सामना गरिरहेको छ । यी चुनौती समाधान गर्न वातावरणीय ज्ञान र जिम्मेवार व्यवहार आवश्यक हुन्छ । यहीँनेर साक्षरताको अर्को महत्वपूर्ण भूमिका देखिन्छ ।
वातावरणीय रूपमा साक्षर नागरिकले पानी तथा ऊर्जाको बचत, फोहोरको उचित व्यवस्थापन, प्लास्टिकको न्यून प्रयोग, वृक्षरोपण र प्राकृतिक स्रोतको संरक्षणको महत्व बुझ्छ । जलवायु परिवर्तनका कारण र प्रभावबारे सचेत नागरिकले आफ्नो जीवनशैलीमा आवश्यक परिवर्तन गर्न सक्छ । विद्यालय तहदेखि नै वातावरणीय साक्षरतालाई व्यवहारिक सिकाइसँग जोड्नुपर्छ । विद्यार्थीले वातावरण संरक्षणका कुरा पुस्तकमा पढ्ने मात्र होइन, विद्यालय र समुदायमा सरसफाइ, वृक्षरोपण, पानी संरक्षण तथा फोहोर व्यवस्थापनमा सहभागी हुने अवसर पाउनुपर्छ । ज्ञान व्यवहारमा रूपान्तरण भएपछि मात्र साक्षरता सार्थक हुन्छ ।
समृद्धिका लागि साक्षरता
साक्षरता आर्थिक समृद्धिको पनि महत्वपूर्ण आधार हो । आधुनिक श्रम बजारमा पढ्न–लेख्न जान्नुका साथै सूचना प्रविधि, वित्तीय कारोबार, व्यावसायिक सीप र उद्यमशीलताको ज्ञान आवश्यक हुँदै गएको छ । वित्तीय साक्षरताले आम्दानी, खर्च, बचत, ऋण तथा लगानी व्यवस्थापन गर्न सहयोग गर्छ । डिजिटल साक्षरताले मोबाइल बैंकिङ, डिजिटल भुक्तानी, अनलाइन सेवा तथा सूचना प्रविधिको सुरक्षित प्रयोगमा सक्षम बनाउँछ । उद्यमशीलता साक्षरताले युवालाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने दिशातर्फ पनि अघि बढाउन सक्छ । नेपालजस्तो विकासोन्मुख देशमा साक्षरतालाई सीप, उत्पादन र रोजगारीसँग जोड्नु अझ आवश्यक छ । स्थानीय स्रोत, ज्ञान, प्रविधि र सीपको प्रयोग गरी उद्यम सञ्चालन गर्न सक्ने नागरिक निर्माण गर्न सकेमा साक्षरताले प्रत्यक्ष रूपमा आर्थिक समृद्धिमा योगदान पुर्याउन सक्छ ।
डिजिटल युगमा नयाँ साक्षरता
डिजिटल प्रविधिले साक्षरताको परिभाषालाई अझ फराकिलो बनाएको छ । युनेस्को ले २०२५ को अन्तर्राष्ट्रिय साक्षरता दिवसमा ‘डिजिटल युगमा साक्षरता प्रवर्द्धन’ भन्ने विषय उठाएको थियो । डिजिटल युगमा साक्षरताले डिजिटल सामग्री पहुँच गर्ने, बुझ्ने, मूल्यांकन गर्ने, सिर्जना गर्ने र सुरक्षित तथा जिम्मेवार ढङ्गले प्रयोग गर्ने क्षमतालाई समेत समेट्छ । आज कृत्रिम बुद्धिमत्ता (एआई) पनि शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवामा प्रवेश गरिरहेको छ । त्यसैले आगामी दिनमा एआई साक्षरता पनि महत्वपूर्ण बन्नेछ । विद्यार्थीले एआईबाट उत्तर प्राप्त गर्ने मात्र होइन, प्राप्त सूचनाको विश्वसनीयता जाँच्ने, मौलिक सोच प्रयोग गर्ने, गोपनीयता र नैतिकताको सम्मान गर्ने तथा प्रविधिको जिम्मेवार प्रयोग गर्ने क्षमता विकास गर्नुपर्छ ।
नेपालको अबको बाटो
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य–४ ले सन् २०३० सम्म सबै युवा तथा पर्याप्त संख्यामा वयस्कले साक्षरता र अंकज्ञान हासिल गर्ने लक्ष्य राखेको छ । साथै शिक्षाले दिगो विकास र दिगो जीवनशैलीका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्नुपर्ने विषयलाई पनि जोड दिएको छ ।
यस दृष्टिले नेपालमा अब साक्षरताको अभियानलाई नयाँ चरणमा लैजान आवश्यक छ । कार्यात्मक, डिजिटल, वित्तीय, वातावरणीय, स्वास्थ्य, नागरिक र एआई साक्षरता जस्ता आयामलाई विद्यालय शिक्षा तथा जीवनपर्यन्त सिकाइसँग जोड्नुपर्छ । शिक्षकको क्षमता विकास, स्थानीय आवश्यकता आधारित कार्यक्रम, डिजिटल पहुँचको विस्तार र समुदायको सक्रिय सहभागिता यसका महत्वपूर्ण आधार हुन् ।
निष्कर्ष
साक्षरता अब केवल अक्षर चिन्ने र पढ्न–लेख्न सक्ने क्षमता होइन । साक्षरता भनेको ज्ञानलाई व्यवहारमा उतार्ने, सही निर्णय गर्ने, प्रविधिको जिम्मेवार प्रयोग गर्ने, मानवताको सम्मान गर्ने, पृथ्वीको संरक्षण गर्ने र समृद्ध समाज निर्माणमा योगदान गर्न सक्ने क्षमता हो ।
‘मानव, पृथ्वी र समृद्धिका लागि साक्षरता’ले यही व्यापक दृष्टिकोणलाई अघि सारेको छ । सक्षम मानव, सुरक्षित पृथ्वी र समतामूलक समृद्ध समाज निर्माण गर्न साक्षरताको दायरा फराकिलो बनाउनैपर्छ । अबको साक्षरता पुस्तकबाट जीवनमा, ज्ञानबाट व्यवहारमा र व्यक्तिबाट समाज तथा पृथ्वीको हितमा रूपान्तरण हुने साक्षरता बन्नुपर्छ ।